बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

प्रदेश नं.२ मा २५ करोड राहत कोष स्थापना

दैनिक नेपाल २०७६ चैत १३ गते १५:३८

जनकपुरधाम, १३ चैत । प्रदेश नं.२ सरकारले कोरोना भाइरसको नियन्त्रण तथा यसबाट प्रभावितलाई राहत उपलब्ध गराउन रु २५ करोडको राहत कोष स्थापना गरेको छ ।

मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले उक्त कोषको स्थापना गर्ने र सो कोषमा सम्पूर्ण मन्त्रीहरुको एक महिनाको तलब राख्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

उक्त राहतकोषमा सहयोग गर्न समाजिक सङ्घसंस्था, प्रदेशका व्यापारिक घरानाका साथै इच्छुक व्यक्तिलाई समेत आह्वान गरिने उहाँले बताउनुभयो ।

बैठकले कोरोना भाइरस नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा सबै मन्त्री रहने गरी ‘उच्चस्तरीय निर्देशन समिति’ गठन गरेको छ ।

त्यस्तै, महामारी नियन्त्रणका लागि आवश्यक व्यवस्थापन गर्न निमित्त प्रमुख सचिव नारायण दवाडीको संयोजकत्वमा सबै मन्त्रालयको सचिव रहने गरी ‘विशेष कार्यकारी समिति’ गठन गरिएको छ ।

सो विशेष कार्यकारी समितिलाई मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि आवश्यक व्यवस्थापन गर्न निर्देशन दिनुका साथै विशेष परिस्थितिका लागि व्यवस्था गरिएका खरिद नियमावलीबमोजिम आवश्यक सामग्रीको खरिद गर्न पाउने निर्णयसमेत गरेको छ ।

बैठकले प्रादेशिक अस्पताल जनकपुर, वीरगञ्ज र राजविराजमा कोरोनासम्बन्धी जाँच गर्न प्रयोगशालाको स्थापना गर्ने निर्णयसमेत भएको प्रवक्ता यादवले जनाउनुभयो ।

बैठकले लकडाउनका कारण समस्या परेका गरिब जनताका लागि आवश्यक राहतको व्यवस्था गर्न स्थानीय तहसँग समन्वय गरेर अघि बढ्ने निर्णयसमेत गरेको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित