धादिङ, १३ चैत । भारतबाट फर्किएका धादिङको गल्छी गाँउपालिकास्थित गोगनपानीका १६ युवाहरूलाई गल्छी बैरेनीमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएको छ ।
भारतबाट फर्किएका मध्यको १ जनालाई ज्वरो आएपछि १६ जनालाईनै क्वारेन्टाईनमा राखिएको गल्छी गाउँपालिकाको स्वास्थ्य प्रमुख रामप्रसाद ज्ञवालीले बताए ।
स्वास्थ्य प्रमुख ज्ञवालीका अनुसार उनीहरूलाई १४ दिन सम्म क्वारेन्टाईनमा राखेर स्वास्थ्य परीक्षण गरिनेछ ।
ज्वरो आएको ब्यक्ति तथा अन्य ब्यक्तिमा जटिल समस्या देखिए काठमाडाैं लैजाने ब्यबस्था मिलाइएको समेत स्वास्थ्य प्रमुख ज्ञवालीले बताए ।
क्वारेन्टाईनमा राखिएकाहरूलाई खाना र खाजा लगायतकोे व्यवस्था गाउँपालिकालनैे गर्ने गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले बताए ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै बैरेनीस्थित बागेश्वरी माध्यमिक विद्यालयमा २५ शैयाको क्वारेन्टाईन कक्ष निर्माण गरिएको थियो । उनीहरूलाई सोही कक्षमा राखिएको छ ।