शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

टेलिकमले शतप्रतिशत बोनस दिने

दैनिक नेपाल २०७६ चैत १२ गते २०:५६

काठमाडौँ, १२ चैत । कोभिड–१९ को जोखिम रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले घरबाट ननिस्कन आदेश जारी गरेको सन्दर्भमा नेपाल टेलिकमले मोबाइल सेवाकोे प्रयोगलाई सहज तुल्याउन रिचार्जमा शतप्रतिशत बोनस घोषणा गरेको छ ।

टेलिकम प्रवक्ता राजेश जोशीद्वारा आज जारी प्रेस विज्ञप्तिमा उक्त व्यवस्था भोलि बिहिबारदेखि ७ दिनका लागि लागू हुनेछ ।

टेलिकमको जीएसएम तथा सिडिएमएको प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशत बराबर बोनसको रूपमा प्राप्त हुनेछ ।

वोनस रकमबाट टेलिकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन तथा डाटा प्रयोग गर्न सकिन्छ भने ब्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज खरिद गर्न वा गिफ्ट पठाउन भने सकिने छैन ।

रिचार्ज कार्ड प्रयोग गरी रु ५० र रु १०० को रिचार्ज गर्दा प्राप्त हुने वोनस रकम २ दिन भित्र खपत गरिसक्नु पर्छ भने रु २०० र रु ५०० को रिचार्जमा प्राप्त हुने वोनस रकम ४ दिनभित्र खपत गरिसक्नु पर्नेछ । टेलिकमका अनुसार, रु १००० को रिचार्जमा प्राप्त हुने वोनस रकम ६ दिनभित्र खपत गरिसक्नु पर्नेछ ।

एमपोस वा विद्युतीय रिचार्जअन्तर्गत रु १० देखि रु ९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस २ दिनभित्र, रु १०० देखि रु ४९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ४ दिन भित्र र रु ५०० देखि रु ९९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ८ दिनभित्र खपत गर्नुपर्नेछ ।

रु १००० वा सो भन्दा माथिको रिचार्जमा प्राप्त हुने वोनस १० दिनभित्र खपत गरिसक्नु पर्ने विज्ञप्तिमा उल्लेख छ । –रासस

प्रतिक्रिया
सम्बन्धित