शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

झापामा लकडाउन प्रभावकारी

दैनिक नेपाल २०७६ चैत १२ गते १४:०५


भद्रपुर, १२ चैत । नेपालमा फेला परिसकेको कोभिड–१९ को सङ्क्रमण फैलिन नदिने उद्देश्यले सरकारले घर बाहिर ननिस्कन दिएको आदेशलाई झापाका नागरिकले पूर्णरूपमा पालना गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले अत्यावश्यकबाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको बताउँदै लकडाउनको उल्लङ्घन नभएको बताउनुभयो ।

“सबैले लकडाउन हाम्रै लागि हो भनेर सरकारी आदेशको पालना गरिरहेकै छन्”, उहाँले भन्नुभयो, “हिजो अली उल्लङ्घन भएको थियो, आदेश नमान्नेका सवारी साधान नै नियन्त्रणमा लिएपछि आज पूर्ण पालना भएको छ ।”

प्रवक्ता श्रेष्ठले लकडाउनको प्रहरीले अनुगमन गरिरहेको र झापामा सबैतिर सर्वसाधारण घरभित्रै बसेको जानकारी आएको बताउँदै किराना पसल, पेट्रोलपम्प, दूध डेरीलगायतका अत्यावश्यक पसललाई खुल्न दिइएको जानकारी दिनुभयो ।

कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक कृष्ण कोइरालाले झापाका १५ स्थानीय तहमा विगत सात दिनदेखि विदेशबाट आउने व्यक्तिको लगत सङ्कन गरिरहेको बताउनुभयो ।

उहाँले सामाजिक सञ्जालमै विभिन्न वडाका टोल विकास समिति, पूर्वप्रहरी, जनप्रतिनिधि र स्थानीयवासीलाई १५ दिनअघिदेखि विदेशबाट आएका व्यक्तिका बारेमा प्रहरीलाई जानकारी दिन आग्रह गर्नुभएको छ ।

उपरीक्षक कोइरालाले सामाजिक सञ्जालमार्फत नै वर्तमान अवस्थालाई बुझेर आफू सुरक्षित रहन र सुरक्षित गराउनसमेत उनीहरुलाई अनुरोध गर्नुभएको छ ।

विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराईले सरकारले घर बाहिर हिँडडुल नगरी सात दिनसम्म सुरक्षित बस्न दिएको आदेशलाई झापाली सचेत नागरिकले स्वागत गरेको बताउनुभयो ।

विदेशबाट आएकालाई घर–घरमा स्वास्थ्य जाँच

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन झापाको बुद्धशान्ति गाउँपालिकाले नेपालभन्दा बाहिरबाट आएका आफ्ना नागरिकको स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्मीलाई घरघरमै खटाएको छ ।

गाउँपालिकाले स्वास्थ्यकर्मीलाई पर्सनल प्रोटेक्टेड इक्युपमेन्ट (पिपीइ) र माक्स लगाएर उनीहरुको स्वास्थ्य परीक्षण गरिरहेको गापा अध्यक्ष रमेश भुजेलले बताउनुभयो । उहाँका अनुसार गापाका विभिन्न वडामा कतार, दुबई, इटाली र बैङ्लोरबाट आएका व्यक्ति छन् ।

“हामीले १० थान पिपीइ काठमाडौँबाट मगाएर सुरक्षित तवरले स्वास्थ्यकर्मीको टोली गाउँगाउँ खटाएका छौँ”, उहाँले भन्नुभयो, “दुई दिनभित्रमा २० जना विदेशबाट आएका व्यक्ति सम्पर्कमा आएका छन् । उनीहरुको स्वास्थ्य जाँच गराउँदा सामान्य रहेको छ र बैङ्गलोरबाट आएका छ विद्यार्थीलाई एउटा खाली घरमा क्वारेन्टाइन बनाएर राखेका छौँ ।”

अध्यक्ष भुजेलले सार्वजनिकस्थल तथा सवारी आवागमन हुने स्थानमा क्लोरिन (किटनाषक औषधि) छर्कन आवश्यक रहे पनि औषधि अभावमा छर्न नसकेको बताउनुभयो । –रासस

प्रतिक्रिया
सम्बन्धित