
चितवन, ८ चैत । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. १ लंकालाईनमा जंगली हात्तीको कारण गाउँलेहरु आतंकित भएका छन् । ११ दिनदेखि लगातार हात्तीले गाउँमा प्रवेश गरी खेतीबाली खाइदिने, घरहरु भत्काइदिने गर्नाले गाउँलेहरु त्रसित भएका हुन् ।
आज राती मात्रै पनि हात्तीले स्थानीयको केरा खेती, मकै खेतीहरु खाइदिएको चतुर्मुखी सामुदायिक वनका अध्यक्ष गंगाप्रसाद सापकोटाले जानकारी दिए ।
हरेक राती सामुदायिक वनबाट हात्ती आई गाउँ प्रवेश गर्नाले गाउँलेहरुले राम्रोसँग सुत्न पनि पाएका छ्रैनन् भने लगाएको खेतीबाली नष्ट गरिदिँदा लाखौँको नोक्सानी समेत भएको अध्यक्ष सापकोटाले बताए ।
सो हात्तीले गोविन्द प्रसाद दाहालको १ बिगाहा केराखेती, चुनक बहादुर श्रेष्ठको १ कठ्ठा मकैखेती, भगवती श्रेष्ठको २ कठ्ठाको मकैबाली, बुद्धिमान मगरको ४ कठ्ठाको मकैबाली, गोपाल लोप्चनको ३ कठ्ठा करेलाखेती, ज्ञान बहादुर लोप्चनको २ कठ्ठा मकैबाली, लक्ष्मी श्रेष्ठको १ कठ्ठाको गोलभेडा खेती, राजु राईको २ कठ्ठाको मकैखेती, सञ्जय लोप्चनको १ कठ्ठाको केराखेती क्षति गरेको छ ।
त्यस्तै ४ दिन अगाडि स्थानीय ज्ञानु अधिकारी (भण्डारी) को घुम्तीमा रहेको किराना पसल हात्तीले फुटाई सामान खानुका साथै पुर्ण रूपमा क्षति पुर्याएको उनी व्यवसायबाट विस्थापित भएको वडा अध्यक्ष लिला बहादुर गुरुङले जानकारी दिए ।
हालसम्म सो हात्तीका कारण स्थानीयको करिव १० लाख रुपैया बराबरको क्षति भइसकेको वडा अध्यक्ष गुरुङले बताउनुभयो । सो लंकालाईन क्षेत्र ताजा तरकारीको कृषि पकेट क्षेत्रको रुपमा रहेको गाउँ हो ।
सांसदद्वारा क्षतिको अवलोकन
बाग्मती प्रदेशका सांसद एवम् शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहालले जंगली हात्तीको कारण भएको क्षतिको आज अवलोकन गरेका छन् ।
सांसद दाहालले क्षतिको अवलोकन गर्दै स्थानीयलाई परेको समस्याको तत्काल जिल्ला प्रशासन कार्यालय चितवनमा जानकारी गराएका थिए । उनले स्थानीयलाई परेको समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई आग्रह गरेका थिए ।
साथै उनले स्थानीयलाई परेको समस्या समाधान गर्न तत्काल पहल गर्ने र समस्या समाधान गर्न आफू प्रतिवद्ध रहेको समेत बताए । साथै उनले किसानहरुमा पुग्न गएको क्षतिको समेत क्षतिपूर्ति उपलब्ध गराइने बताए ।















प्रतिक्रिया