आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

भारतमा ‘जनता कर्फ्यु’ जारी

दैनिक नेपाल २०७६ चैत ७ गते ८:४६

काठमाडौं, ७ चैत । भारतले आइतबार १४ घण्टा ‘जनता कर्फ्यु’ घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै त्यस दिन बिहान ७ बजेदेखि साँझ ९ बजेसम्म अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्किएर जनता कर्फ्यु पालना गर्न आग्रह गरेका छन् ।

भारतले संक्रमण फैलिन नदिन आइतबार (२२ मार्च) देखि एक सातासम्म सबै नियमित अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । भारतभर विभिन्न रुटमा चल्ने १ सय ६८ रेलको सेवा ३१ मार्चसम्म बन्द गरेको छ । अन्तर्राष्ट्रिय उडान र रेल सेवा बन्द गरिएपछि भारतका विभिन्न सहरबाट घर फर्कन चाहने नेपाली प्रभावित हुने भएका छन् ।

विदेशबाट फर्केका भारतीय एवं विदेशी पर्यटकका कारण संक्रमण बढेपछि भारतले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको हो । भारतमा पहिलो संक्रमण चीनको वुहानबाट फर्केका केरलाका एक विद्यार्थीमा देखिएको थियो । त्यसपछि पुष्टि भएका अधिकतर संक्रमित पनि विदेशबाट फर्केकाहरू छन् ।

भारतको नयाँ निर्णयका कारण काठमाडौंबाट नयाँदिल्ली, नयाँदिल्ली, बनारस, बैंग्लोर र मुम्बईमा हुँदै आएका उडान बन्द हुनेछन् । यी गन्तव्यमा नेपाल वायुसेवा निगम, बुद्ध एयर, इन्डिगो, एयर इन्डिया र विस्ताराले उडान गर्दै आएका थिए । विस्ताराले मार्च २१ देखि ३१ सम्म उडान बन्द गर्ने घोषणा यसअघि नै गरिसकेको छ । अब नेपालीले भारत हुँदै तेस्रो मुलुक उड्न पनि पाउने छैनन् ।

भारतको प्रेस इन्फरमेसन ब्युरोले बिहीबार साँझ सूचना जारी गर्दै ६५ वर्षमाथि र १० वर्षमुनि उमेरकालाई सकेसम्म घरबाहिर ननिस्किन आग्रह गरेको छ । भारतको केन्द्र सरकारअन्तर्गतका कर्मचारीमध्ये तल्लो तहका ख र ग श्रेणीका करिब ५० प्रतिशतलाई घरबाट काम गर्न परिपत्र जारी गरिएको छ । अन्य कर्मचारीलाई पनि तीन सिफ्टमा कार्यालय आउन भनिएको छ ।

आपत्कालीन र विशेष सेवाबाहेकका कर्मचारीलाई घरबाटै काम गराउन निजी क्षेत्रसँग आग्रह गरिएको छ । दिल्ली सरकारले बिहीबार सबै रेस्टुराँ बन्द गर्न आदेश दिएको छ । देशभरका आईआईटी कलेजका छात्रावास शनिबारसम्म खाली गर्न आदेश दिइएको छ । विदेशी विद्यार्थीलाई भने यो आदेश लागू हुने छैन । भारतमा बिहीबार साँझसम्म कोभिड–१९ बाट १ सय ७३ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित