२ कार्तिक २०८३, सोमबार

आत्महत्या गर्न बाध्य पारेको अभियोगमा तीन पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

भक्तपुर, ६ चैत । मध्यपुरठिमि नगरपालिका–१ मनोहरा बस्तीमा बस्ने एक महिलालाई कुटपिट गरी आत्महत्या गर्न बाध्य पारेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थिमिको टोलीले धादिङ खानीखोला गाउँपालिका–१० घर भई हाल मध्यपुरथिमि–१ लोकन्थली बस्ने ३६ वर्षीया अप्सरा बाँस्कोटा, ताप्लेजुङ तेलोक गाउँपालिका–२ घर भई हाल लोकन्थली बस्ने ३४ वर्षीया सुनिता सुब्बा र ताप्लेजुङ तेलोक गाउँपालिका–२ घर भई लोकन्थली बस्ने १८ वर्षीया एनिहा सुब्बालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

खोटाङ दिक्तेल नपा–३ पिनालाखा घर भई हाल मनोहरामा १८ वर्षीय छोरा अनिश राईसँगै बस्दै आएकी ३५ वर्षीया बिमला राईलाई ओरोपी तीन छिमेकीले कुटपिट गरेको र शारीरिक तथा मानसिक यातना दिएपछि उनले आफ्नै कोठामा झुण्डिएर आत्माहत्या गरेको प्रारम्भिक अनुसारन्धानमा खुलेको प्रहरीको भनाइ छ ।

अनुसन्धानकै क्रममा मृतकको छोरा अनिश राईले मेरो आमालाई कुटपिट गरी शारीरिक तथा मानसिक याताना दिई आत्महत्या गर्न बाध्य गराएको भन्दै तीनजनाको नाममा किटानी जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको कोइरालाले जानकारी दिनुभयो ।

प्रहरी शवलाई परीक्षणको लागि त्रिवि शिक्षण अस्पताल, फोरेन्सिक मेडिसिन विभाग महाराजगञ्ज, काठमाडाैँ पठाइएको र पक्राउ परेकाहरुलाई आत्माहत्या दुरुत्साहन मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । –रासस