६ कार्तिक २०८३, शुक्रबार

अत्यावश्यकबाहेक बाहिर हिँडडुलमा रोक

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । कोरोना भाइरस संक्रमणको उच्च सतर्कता अपनाउन सरकारले अत्यावश्यक कामबाहेक हिँडडुलमा रोक लगाएको छ। वैशाख १८ गतेसम्मलाई भेला र भीडभाडमा निरुत्साहन गरिएको हो।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले मुलुकभरका सिनेमा हल, सांस्कृतिक केन्द्र, रंगशाला, खेलस्थल, जिमरहेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार र क्लब बन्द गर्ने निर्णय गरेको छ।

यसको अनुगमन गृह, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्नेछन्। साथै प्रदेश सरकार र स्थानीय तहले पनि अनुगमन गर्नेछन्।

बैठकले सांस्कृतिक एवम् सामाजिक गतिविधिसँग सम्बन्धित भोजभतेर नगर्न आग्रह गर्दै मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको छ।

यस्तै सार्वजनिक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्नर नगराउन यातायात व्यवसायीलाई अनुरोध गरिएको छ। नागरिकलाई भीडभाड गरी यात्रा नगर्न अनुरोध गरिएको छ। यसको अनुगमन गृह र संस्कृति मन्त्रालयले गर्नेछन्।

बढी जमघट हुने सार्वजनिक महत्वका स्थलहरू स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका) ले दैनिक रुपमा निश्चित समयको अन्तरालमा सरसफाइ एवं डिसइन्फेक्सन गर्ने भएका छन्। यसको अनुगमन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश सरकार र स्थानीय प्रशासनले गर्नेछन्।-अन्नपूर्णबाट