२ कार्तिक २०८३, सोमबार

पाँचखपनमा आगलागी हुँदा आठ लाख क्षति, एक घाइते

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

खाँदबारी, ५ चैत । सङ्खुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा आगलागी हुँदा रु आठ लाखभन्दा बढीको क्षति भएको छ । आगलागीबाट पाँचखपन–८ पोख्राङका बृहस्पति गौतमका दुई घर जलेर नष्ट भएको नगरपालिकाका उपप्रमुख भीमादेवी राईले जानकारी दिनुभयो ।

मङ्गलबार राति १० बजे खोले पकाउँदै गरिएको आगो सल्किएर गौतमका घरमा भएका खाद्यान्न, लत्ताकपडा, रु १२ हजार, दुई तोला सुनलगायत सम्पूर्ण सामान जलेर नष्ट भएको उपप्रमुख राईले बताउनुभयो ।

राति आगो नियन्त्रण गर्न नसकिएको उहाँले बताउनुभयो । आगलागीबाट रु आठ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीचौकी पाँचखपनले जनाएको छ ।

आगो निभाउने क्रममा पाँचखपन –८ का टङ्कप्रसाद गौतम र छत्रबहादुर दाहाल घाइते भएको वाना प्रहरी चौकीले जनाएको छ । घाइते गौतमलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको उपप्रमुख राईले जानकारी दिनुभयो ।

आगो निभाउने क्रममा गौतमलाई शरीरका विभिन्न भागमा पोलेको स्थानीयवासी अशोक न्यौपानेले जानकारी दिनुभयो । –रासस