४ कार्तिक २०८३, बुधबार

युरोप बन्द : अन्योल र त्रासमा नेपाली

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । युरोपमा अवैध (बिनाभिसा) बसेका नेपाली कोरोना भाइरस (कोभिड–१९)को बढ्दो संक्रमणले संकटमा परेका छन्। पोर्चुगलमा एक नेपालीलाई कोरोना संक्रमणको पुष्टि भएपछि युरोपका नेपाली आतंकित भएका छन्।

अध्ययन गर्न गएका तथा वैधानिक रूपमा काम गर्ने नेपालीलाई त्यहाँको सरकारले कामबराबरको रकम उपलब्ध गराएको हुनाले दैनिकीमा समस्या छैन। जो अवैध छन् उनीहरूको हकमा भने समस्या हुने देखिएको छ। पोर्चुगल र स्पेनमा नेपाली अवैध रूपमा बसोबास गर्दै आएका छन्। त्यहाँ सजिलै वैधानिक हुन सकिने हुनाले त्यस्ता नेपालीको संख्या ती दुई मुलुकमा बढी छन्। त्यहाँ कागज बनाएर अन्य मुलुक पुग्ने गर्छन्। अन्य युरोपेली मुलुकमा पनि केही न केही नेपाली ओभरस्टे (भिसाबाहेक) बस्दै आएका छन्। उनीहरू बढी चिन्तित रहेको नेपाली दूतावासको अनुमान छ।

युरोपमा हजारौंको संख्यामा नेपाली अवैध बसोबास गरिरहेका छन्। युरोपमा रहेका राजदूतका अनुसार नेपालीमा महामारी भएको जानकारी आएको छैन। ‘नेपालीसँग कुनै न कुनै माध्यमले जोडिएका छौं’, फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले मंगलबार अन्नपूर्णसँग टेलिफोनमा भने, ‘पोर्चुगलको फारवामा एक नेपालीलाई संक्रमण भएको र त्यहाँ ४०–४५ नेपालीलाई क्वारेन्टाइनमा राखिएको जानकारी आएको छ।’

नेपालीको नाम सार्वजनिक गरिएको छैन। आइसोलेसनमा राखेर र उपचार भइरहेका नेपालीको स्थिति सामान्य रहेको जानकारी उनले दिए। युरोपेली महासंघ (ईयू)का लागि राजदूत रहेका लोकबहादुर थापाले पनि यहाँका नेपालीलाई कोरोनाले आक्रमण गरेको जानकारी नभएको बताए। सिंगो युरोप आक्रान्त रहेकाले सबै सचेत भएर घरमै बस्नुको विकल्प नभएको उनले उल्लेख गरे। ‘युरोप औपचारिक रूपमै लकडाउनझैं छ’, उनले भने, ‘बुधबार साँझ ईयू नेतृत्वको भिडियो कन्फरेन्स गर्दै नियन्त्रण र उपचारका थप निर्णय लिनेछन्।’

अधिकांश मुलुक १५ दिनका लागि लकडाउन भएका छन्। इटाली र स्पेन यसअघि नै लकडाउन थिए। बेल्जियम, नेदरल्यान्ड र लग्जेम्बर्गसमेत हेर्ने राजदूत थापाले त्यहाँ रहेका नेपालीमा समस्या नभए पनि सन्त्रास रहेको बताए।

‘वैधानिक रूपमा काम गर्नेलाई अन्य समस्या पनि रहँदैन। सरकारले खानाका लागि पैसा उपलब्ध गराउँछ’, उनले भने, ‘अवैध बस्ने तथा दैनिक ज्यालादारी गर्नेलाई असहज भए दूतावासले सहयोग गर्नेछ। आफ्ना नागरिकलाई सहयोग गर्नु हाम्रो कर्तव्य हो।’

ईयूअन्तर्गतका सबै मुलुकमा कोरोना महामारी फैलिएपछि १५ दिनका लागि सटडाउन गरेका हुन्। उनीहरूलाई घरबाहिर निस्किन प्रतिबन्ध लगाइएको छ। कतिपय स्थानमा नागरिक बाहिर निस्किरहेकाले त्यहाँ उनीहरूलाई सुरक्षाकर्मी परिचालन गरेर भए पनि भित्रै राख्ने नीति ईयूले लिएको अधिकारीले बताए। सुरुमा अत्यावश्यक सामग्री र औषधि किन्न वा काममा जान दिइएको थियो। इटाली र स्पेन प्रभावित रहे पनि अहिले फ्रान्स, जर्मनी, पोर्चुगल, डेनमार्क, स्विटजरल्यान्डमा फैलिएको छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।