सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

काेराेना भाइरस संक्रमणबाट इटालीमा एकै दिनमा ३६८ को मृत्यु

दैनिक नेपाल २०७६ चैत ३ गते ८:०४

इटाली, ३ चैत । कोरोना भाइरसको विश्वव्यापी महामारीको हालको ‘इपिसेन्टर’ का रुपमा रहेको युरोपका तीन देशमा एकै दिन भाइरसका कारण अहिलेसम्मकै धेरै मानिसको मृत्यु भएको छ ।

युरोपका तीन देशमा आइतबार कोरोना भाइरसका कारण मृत्यु हुने मानिसको संख्याले नयाँ उचाई लिएको हो । चीन बाहिर सबैभन्दा बढी प्रभावित भएको इटालीमा मृत्यु हुनेको संख्या सबैभन्दा धेरै छ ।

आइतबार एकै दिन इटालीमा कोरोना भाइरसका कारण ३६८ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८ सय ९ पुगेको छ ।

स्पेनमा आइतबार एकै दिन ९७ जनाको मृत्यु भएको त्यहाँका स्वास्थ्य अधिकारीले बताएका छन् । स्पेनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको कुल संख्या २८८ पुगेको छ ।

फ्रान्समा आइतबार थप २९ जनाको मृत्यु भयो । योसँगै फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु हुनेको कुल संख्या १२० पुगेको छ ।

यसैगरी बेलायतमा पनि आइतबार एकै दिन १४ जनाको ज्यान गएको छ र यो अहिलेसम्मकै धेरै हो । बेलायतमा अहिलेसम्म कोरोना भाइरसका कारण ३५ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाको संक्रमण रोक्ने प्रयासमा रहेका युरोपेली देशहरुले नागरिकको चहलपहलमा रोक तथा सीमामा कडाई गरेका छन् ।

जर्मनीले फ्रान्स, स्वीट्जरल्याण्ड, अस्ट्रिया, डेनमार्क र लग्जेम्बर्गसँगको सीमामा नियन्त्रण कायम गरेको छ । पोर्चुगलले स्पेनको प्रमुख सीमा बन्द गर्ने जनाएको छ ।

गएको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएर चीनका विभिन्न राज्यमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको नयाँ इपिसेन्टर युरोप बनेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसअघि नै बताइसकेको छ ।

स्वीट्जरल्याण्डमा नयाँ संक्रमितको संख्या ८०० भएसँगै कुल संक्रमितको संख्या २२ सय पुगेको छ । स्वीट्जरल्याण्डमा अहिलेसम्म १४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

युरोपमा सबैभन्दा बढी प्रभावित भएको इटालीमा अहिलेसम्म २४ हजार ७४७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै स्पेनमा सात हजार ७५३, फ्रान्समा ५ हजार चार सयजनामा संक्रमण भएको छ ।

प्रतिक्रिया
सम्बन्धित