सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

कोरोना फैलिन नदिन अमेरिकाले लगायाे बेलायत र आयरल्याण्डमाथि प्रतिबन्ध

दैनिक नेपाल २०७६ चैत २ गते ८:०९

न्युयाेर्क, २ चैत । कोरोना भाइरसको संक्रमण फैलिन नदिने प्रयासमा रहेको अमेरिकाले युरोपका विभिन्न देशमा यात्रा प्रतिबन्ध लगाएको छ । अमेरिकाको यात्रा प्रतिबन्धको सूचिमा बेलायत र रिपब्लिक अफ आयरल्याण्ड पनि समावेश भएका छन् ।

बेलायत र रिपब्लिक अफ आयरल्याण्डमाथिको यात्रा प्रतिबन्ध आउँदो मंगलबारदेखि सुरु हुने अमेरिकी उपराष्ट्रपति माइक पेन्सले घोषणा गरेका हुन् । यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको यात्रा प्रतिबन्ध युरोपियन युनियनका २६ देशमा शनिबारदेखि लागु भएको छ ।

उपराष्ट्रपति पेन्सले सो सूचिमा बेलायत र आयरल्याण्ड पनि समावेश भएको बताएका हुन् । उनले कोरोना भाइरसको निशूल्क परीक्षण सबै अमेरिकीलाई उपलब्ध गराइने पनि बताएका छन् ।

माइक पेन्सले गरेको सोही पत्रकार सम्मेलनमा बोल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले कोरोना भाइरसको परीक्षण गरेको र आफूमा संक्रमण नरहेको जानकारी दिए । अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कारण ५७ जनाको मृत्यु भएको छ । यस्तै २८ सयजनामा संक्रमण पुष्टि भएको छ ।

विश्वका १२३ देशमा अहिलेसम्म एक लाख ३२ हजार पाँच सयजना भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको डब्लुएचओले जनाएको छ ।

अहिले भाइरसको इपिसेन्टर युरोप बनेको डब्लुएचओको भनाई छ । गएको डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिले चीनमा अति कम भएको छ ।

अमेरिकाले युरोपका देशमा ३० दिनको यात्रा प्रतिबन्ध लागु गरेको हो । अमेरिकाले यात्रा प्रतिबन्ध लगाएका देशहरुमा अस्ट्रिया, बेल्जियम, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, हंगेरी, आइसल्याण्ड, इटाली, लात्भिया, लिचेस्टाइन, लिथुवानिया, लग्जेम्बर्ग, माल्टा, नेदरल्याण्डस, नर्वे, पोल्याण्ड, पोर्चुगल, स्लोभाकिया, स्लोभेनिया, स्पेन, स्वीडेन र स्वीट्जरल्याण्ड छन् ।

प्रतिक्रिया
सम्बन्धित