शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

नेहा कक्कडले किनिन् ठूलो घर

दैनिक नेपाल २०७६ चैत १ गते ८:४९

मुम्बई । बलिउडकी चर्चित गायिक नेहा कक्कड सामाजिक सञ्जालमा सक्रिय छन् । उनले हालै सामाजिक सञ्जालमार्फत् नै आफ्ना बारेमा एउटा जानकारी दिएकी छन्, जसले धेरै प्रशंसकको ध्यान आकर्षित गरेको छ ।

नेहाले हालै ऋषिकेशमा एउटा ठूलो घर किनेकी छन् । यसको तस्बिर उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा राखेकी छन् । ऋषिकेशस्थित उनको घरको फोटो राख्दै उनले आफ्नो पुरानो कथा पनि भनेकी छन् ।

उनले राखेका यी तस्बिर १७ लाखभन्दा बढी पटक हेरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यी तस्बिरमा खास के छ भने, यहाँ उनको नयाँ ठूलो घरको मात्र तस्बिर छैन, नेहाको पुरानो घरको पनि छ । उक्त पुरानो घर पनि ऋषिकेशमै छ जहाँ उनी स–परिवार बस्थिन् । नेहाका अनुसार जम्मा एक कोठाको उक्त घरमा उनी, आमाबुवा, र दिदीदाइ बस्थे ।

उनले भनेकी छन्, ‘ऋषिकेशमा यो घर मैले किनेकी छु । अर्को फोटो मेरो पुरानो घरको हो जहाँ म जन्मिएँ । हाम्रो पूरै परिवार एक कोठामा बस्थ्यौं । यो कोठामा मेरी आमाले एउटा टेबल राख्नुभएको थियो, जुन हाम्रो किचन थियो । यो घर पनि हाम्रो थिएन, भाडा तिरेर बसेका थियौं । अहिले मैले त्यही सहरमा किनेको आफ्नो घर देख्दा भावुक हुन्छु ।’

नेहाले आफ्नो मिहिनेतले आफू यहाँसम्म आएको बताएकी छन् । ३१ वर्षीया नेहा सन् २००६ मा इन्डियन आइडल सिजन २ मा प्रतिस्पर्धी बनेर आएकी थिइन् ।

सन् २००८ मा उनले आफ्नो पहिलो एल्बम सार्वजनिक गरेकी थिइन् । यसपछि उनको रफ्तार तीव्र रह्यो । इन्डियन आइडल सिजन १० र ११ मा उनी जजका रूपमा देखिइन् ।

प्रतिक्रिया
सम्बन्धित