बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

कला क्षेत्रले नै मलाई चिनायाेः प्रवीण

दैनिक नेपाल २०७६ फागुन ३० गते ८:२०

काठमाडौं । नायक प्रवीण एनबीले ‘वंश’ नामक टेलिसिरियलबाट आफ्नो अभिनय यात्रा शुरु गरेका हुन् । त्यस बेला नेपाल टेलिभिजनबाट प्रशारण हुने गरेको ‘वंश’को चर्चा निकै थियो । त्यसपछि प्रवीणले ‘गहना’ र ‘तातो न छारो’ नामक टेलिसिरियलमा पनि काम गरे ।

अभिनयमा धेरै रुचि राख्दै आएका प्रवीणलाई टेलिसिरियलले चित्त बुझेन । काठमाडौंमा पेशा व्यवसाय गर्दै आएका प्रवीणले ठूलो पर्दाको फिल्म खेल्ने योजना बनाए । फिल्म खेल्नका लागि प्रवीणले समय निकाल्ने गरेका छन् ।

त्यसका लागि उनले अभिनयका साथै नृत्य पनि सिके । दाङ जिल्लाको दङ्गीशरण गाउँपालिका वडा नम्बर ६ निवासी प्रवीणले पहिलो फिल्म ‘धनवान’ खेल्न पाए । फिल्ममा पुराना नायकहरू सुशील क्षेत्री, दिनेश शर्मा जस्ता कलाकारहरूसँग नायक भएर काम गरे ।

उनको अभिनय सुशील र दिनेशको भन्दा कम थिएन । फिल्म रिलिज पनि भयो । फिल्मबाट अपेक्षा गरिएअनुसारको चर्चा नपाएपनि प्रवीणले हार मानेनन् । त्यसपछि उनले ‘वीरबहादुर दङ्ग पर्छ’मा अभिनय गरे । यो फिल्ममा उनको अभिनय अत्यन्तै राम्रो छ । प्रवीण तेस्रो फिल्म ‘सेवक’मा अभिनय गर्दै छन् । ‘सेवक’को सम्पूर्ण तयारी पूरा भइसकेको छ । केही प्रविधिक काम सकिनेवित्तिकै छायाँकनमा जाने उनले बताएका छन् ।

०५७ सालमा काठमाडौं आएका प्रवीणलाई कला क्षेत्रमा फिल्म निर्देशक अमर ओलीले भित्र्याएका हुन् । त्यस बेला ग्ल्यामर्स भनेपछि अर्कै रौनक थियो । प्रवीणले विगतलाई स्मरण गर्दै भन्छन्, ‘सानैदेखि फिल्म खेल्न सपना थियो । काठमाडौं आएपछि सपनाहरू एकपछि अर्को गर्दै पूरा हुँदै गए ।’ दाङमा रहँदा राजेश हमालका फिल्म प्रवीणले कहिल्यै छुटाउँदैन थिए ।

राजेश हमाल उनलाई मन पर्ने नायक हुन् । पछिल्लो समय अर्का नायक शीतल केसी पनि प्रवीणलाई मन पर्छ । मिलनसार प्रवीण सधै लोप्रोफाइलमा बस्न रुचाउँछन् । आफ्नो पेशा व्यवसायलाई पहिलो प्राथमिकतामा राखेपनि प्रवीणले अभिनय क्षेत्रलाई भुल्न भने सक्दैनन् । भन्छन्, ‘बाँच्नका लागि पेशा व्यवसाय गरेको छु । अभिनय गर्न पनि छाड्दैन ।’ फिल्मबाट चिनिने उनको सपना छ ।

प्रवीणलाई कला क्षेत्रमा प्रवेश गर्दा शरुवाती दिनमा परिवारबाट असहयोग भएको थियो । अहिले भने उनलाई परिवारले नै साथ दिएको छ । ‘अहिले मै स्वयं नायक भएर फिल्ममा खेलेको देख्दा घरपरिवार र साथीभाइहरू खुसी हुन्छन्’, दङ्ग पर्दै उनले भने, ‘ठूला ब्यानरका फिल्म खेल्न पाएको छैन । साना ब्यानरका फिल्म खेल्न कमी छैन ।’

भविष्यमा पनि प्रवीणले आफूलाई कला क्षेत्रमा नै सक्रिय बनाउने बताएका छन् । भन्छन्, ‘कला क्षेत्रले नै मलाई चिनाएको छ । यो क्षेत्र छाड्दैन ।’ उनले रहरलाई पूरा गर्ने क्रममा नायक बन्न सफल भएकोमा आफै दङ्ग छन् ।

प्रतिक्रिया
सम्बन्धित