शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

पदीय रापको संक्रमणभित्र नेपाल प्रहरीका आईजी ज्ञवाली

विनोद ढकाल २०७६ फागुन २९ गते ९:१५

-विनोद ढकाल

यो परिकल्पना स्वभाविक हुनेछ कि भर्ती हुँदै गर्दा, प्रहरी निरिक्षक (इन्स्पेक्टर)मा नाम निस्कँदा सायद ठाकुरप्रसाद ज्ञवालीको मनमा खिन्नता थियो । मौनता थियो । सन्नाटा पनि थियो । नाम त निस्कियो तर विकल्पमा । त्यसले उनलाई आजको दिनलाई सम्झिएर पटक–पटक अनेक बोध भएको थियो, सम्भवतः ।

ति दिनका सम्झना या स्मरणका पोका उनले आईजी नियुक्ति भएको २८ माघका दिन फुकाए होला । मथिङ्गलमा हल्लाए होला, २९ बर्ष अघिका रोषलाई एकछिन हर्षित मुद्रासँग जोडेर विश्लेषण गरे होला । ख्याउटे शरिरमा काँडा उम्रिँदा केही झन्कार भए होलान् । विकल्प नै सही, यसबेलाका लागि रहेछ भन्ने आत्मसन्तुष्टी भयो पनि होला ।

उनी नेपाल प्रहरी महानिरिक्षक (आईजी)मा विवादरहित, राजनीतिक तुषशुन्य, संगठनको चेनअनुसारको निर्णयार्थ बढुवा अथवा नियुक्त भए ।

बधाईका उरुङ लाग्नु अस्वभाविक होइन । लागेका थिए । त्यसमा एउटा योगदान टिप्पणीकारको पनि थियो, समालोचनात्मक हिसाबले । जिम्मेवारीताले बधाई पाउनुपर्छ, निस्वार्थ हिसाबले । टिप्पणीकारको कुनै स्वार्थ थिएन, छैन र हुनेछैन ।

लोक बडा विचित्रको छ । यसले पहिला बधाई दिन्छ । शुभकामना दिन्छ । कार्यकाल सफलताको मिठा शव्दहरूलाई छारष्ट पार्छ । लाग्छ– लोक मेरै हो । तर यथार्थमा त्यो होइन । लोक ताकतको पुजारी हुन्छ । आ–आफ्ना स्वार्थको मौकालाई शुभकामना भन्ने पाँच र बधाई भन्ने तीन अक्षरमा हिसाबकिताब गरेर बसीरहेको हुन्छ ।

जसरी प्रहरीमा ५ महिनापछि भर्ती हुने अवसर मिल्यो त्यहि ‘ग्याप’ले त्यस संगठनको सारथी बनेर रथ हाँक्ने मौका पनि दियो । नेपाल प्रहरीमा पाएको यो मौका मात्र होइन, जिम्मवारी हो । र, यो कुरुक्षेत्रको युद्ध हैन रथ हाँक्ने र बाँण अर्काले चलाइदिने । यो मैदानको कृष्ण र अर्जुन पनि आफैं हुने मौका ज्ञवालीले पाएकै हुन् ।

प्रहरी महानिरिक्षक (आईजी) ठाकुरप्रसाद ज्ञवाली भन्ने नाम हरेक दिन अनेक मुखारविन्दुबाट जुन हिसाबले खस्ने गर्छ, धस्सिने गर्छ यसले दुईवटा अर्थ दिनुपर्ने हो, खासमा– संगठनभित्रको गति र जनताको न्यायका निम्ति प्रहरीको सकारात्मक कर्मको लय ।

सामान्य घेराभित्रबाट मात्रै केही महिना बिताउँछु र फुत्त आरामको सेवानिवृत्त जीवन बाँच्छु भन्ने छुट आईजी ज्ञवालीलाई छैन । उनको अन्तिम दिनसम्मको जिम्मेवारीमा हुने निर्णयले संगठनभित्र दिर्घकालिन प्रभाव पार्छन् । राम्रो गरे सकारात्मक र आँखा चिम्लिए त्यसको परिणाम भयानक, भयावह र अस्रेल्ल नहोला भन्न सकिन्न

एउटा उदाहरणसहित अघि बढौं ।

राजनीतिको तिव्र आलोचना हुनुको मुख्य कारण भनेको नेताले आफन्त च्यापे, मौका आफन्तलाई दिए, नातावादी कित्ताभित्रको निर्देशनमा चले, आम मानिसका सवालका उत्तर दिन सकेनन्, आम कार्यकर्ताको आवाजलाई सुनेर स्थापित गर्न सकेनन् भन्ने नै हो । यो भन्दा अर्को कटु सत्य छैन ।

तर फौजी संगठन भएका कारण प्रहरी नेतृत्व त्यसरी हिँड्न सक्तैन, हिँड्न हुन्न । उसको आफ्ना सीमा र दायरा छन् । नीति र व्यवाहारिकता छन् । तर नानीदेखि लागेको बानी, यहि समाजको प्रवित्तिमा हुर्किएको मानिस, यहि समाज र राजनीतिको आलोकमा उभिएकाहरूले यो निरन्तरताको क्रमभंग गर्न कठिन हुन्छ ।

भ्रष्टाचारमा कठोरता अपनाउँछु भने पनि आईजी ज्ञवालीले के बुझ्नुपर्छ भने कुनै ठेकेदारसँगको उठबस, बुट चुस्ता जुत्ता सरुवा बढुवामा कमिशन लिनु मात्र भ्रष्टाचार होइन । पदीय दुरुपयोगका आर्थिक मामला भन्दा पनि परका सवालहरूले एउटा जिम्मेवार व्यक्तिलाई घेर्छ ।

प्रहरी संगठनको नेतृत्व लिएको एक महिना पनि पूरापूर नहुँदा आईजी ज्ञवाली सोही सेवामा रहेका आफ्ना भाईको हुकुमी फरमानको थुप्रोमा उभिएका छन् भन्ने चर्चा सुरु भएको छ । यो अहिलेका लागि चर्चा, भोलीका लागि प्रचार र पर्सीका निम्तिचाहिँ अपजसको भारी बोक्नेभन्दा अन्य परिणाम हुनै सक्तैन । केही भएको छैन चर्चा मात्र भए त्यसलाई बन्द गरिनुपर्छ, चर्चा हुनुपर्ने कारणलाई व्यवाहारिक पाटोबाट खारेज गर्नुपर्छ, त्यसको थालनी आईजी ज्ञवालीले आफैंले बुझेर, आफैंले सम्झेर गरेको उत्तम हुन्छ । अन्यलाई जिम्मा दिए त्यो पदीय चापको प्रतिरोधात्मक क्षमता ह्रास गर्ने भाइरस सरह नहोला भन्न सकिन्न ।

राम्रो सुरुआत गरेका प्रहरी प्रमुखले प्रशंशाको बिऊ त छरेका थिए तर केही सांगठनिक निर्णयहरूको परिणामका बिम्बहरूले ऐँजेरु मात्र उम्रिएको हो की भन्ने संकेत देखा परेका छन् । यी संकेतहरू जुन हिसाबले प्रचारबाजीमा आएका छन् तिनलाई नजरअन्दाज गरी सामान्य घेराभित्रबाट मात्रै केही महिना बिताउँछु र फुत्त आरामको सेवानिवृत्त जीवन बाँच्छु भन्ने छुट आईजी ज्ञवालीलाई छैन । उनको अन्तिम दिनसम्मको जिम्मेवारीमा हुने निर्णयले संगठनभित्र दिर्घकालिन प्रभाव पार्छन् । राम्रो गरे सकारात्मक र आँखा चिम्लिए त्यसको परिणाम भयानक, भयावह र अस्रेल्ल नहोला भन्न सकिन्न ।

देखिएको तथ्य राखौं ।

नेपाली सेनामा तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षत्रीको भ्रष्टाचारको मुद्दा अहिले निक्कै चर्चामा छ । हुन त राजेन्द्र आफैं नै आर्थिक मामलामा विवादीत थिए, छन् । तर, उनको आर्थिक विवरणमा आउने माध्यमचाहिँ दाजु रमिन्द्र क्षत्री रहेको चर्चा सर्वत्र भयो । र, केही चिनजानमा रहेकाहरूले, सेनाभित्र अर्थ सम्बन्ध बनाउन खोजेकाहरूले टिप्पणीकारलाई दिएका फाइलका कागजी तथ्य केलाउने हो भने, माध्यम रमिन्द्र नै देखिन्छन् ।

संगठनमा यो नियती देखिनु भनेको दुवैका लागि हानिकारक हुन सक्छ । यो नजिर बनिदिन्छ आउने पुस्ताका लागि । यसले दृष्टिकोण बनाउँदा कुनै अफिसरको योग्यताभित्र अनेक प्रश्न उठ्न सक्छन् । सतहमा देखिएको तथ्य के हो भने– यथार्थ भन्दा बढी प्रश्नहरूको घेरामा व्यक्तिले करिअरका उत्तरार्धमा बदनामीको बर्को ओढेर सुत्नु परेको छ । समय छ– यो नियतीको परिणाम आईजी ज्ञवाली वा त्यहि संगठनमा रहेका उनका भाईमा छैन होला, भोग्न नपरोस् ।

टिप्पणीकारलाई स्पष्ट थाहा छ– यो देशका कार्यकारी प्रमुख भन्दा उनका सहयोगीको तुजुग बलियो हुन्छ । उसले ठान्छ– मैं यो देशको प्रधानमन्त्री हुँ । ठूला–ठूला मानिसले मलाई नमस्कार ठोक्छ, जयजयकार गाउँछ । ऊ आफूलाई महादेवले सुविधाका लागि राखेको ‘भष्मासुर’ हो भन्ने विर्सन थाल्छ । महादेव नै मैं हुँ, शक्ति नै मसँग धेरै छ भन्ने भ्रमको सपनामा दौडन थाल्छ । त्यो सपना देखाइदिने दानवीय विचारका महागुरुहरूको कमी हुँदैन । यो कलियुग हो, यहाँ नहुने कुरै छैन । अझ नेपाली समाजको प्रवित्तिमा अनिवार्य ।

जसरी निर्विवाद प्रवेश भयो, विवादरहित विदाईको लक्ष्य र उद्देश्यमा व्यवाहारिक हिसाबले संगठन हाँक्नुपर्छ । संगठनमा मान्छे गनेर मुस्कान छर्ने होइन, योग्यता, क्षमता र कार्यदक्षताको सम्मान गरी जनताको अनुहारमा मुस्कान दिने प्रयत्न नै आईजी ज्ञवालीका लागि विशेष रहन सक्छ

यसर्थ, समय घर्किएको छैन । अगाडि चाकरी गर्ने र पछाडि भष्मासुर बन्ने पात्रहरूको छनौट गरी त्यो घेरालाई सुधार्नु उत्तम विकल्प हुन्छ, आईजी ज्ञवालीका लागि ।

सतहमा आएको चर्चासँग एउटा प्रसङ्ग तुलना गरौं । श्रीलंकाका एकथरी जनताहरूले रावणलाई भगवान मान्छन् जहाँ उनका बौद्धिक र ज्ञानी भनिएका भाई विभिषणलाई ‘धोकेबाज’ । रावणका भाई विभिषणका कारण लंकामा आगो लागेको, विरासत गुमेको राज्यद्रोही विषयलाई मध्यनजर गर्नु बुद्धिमता हुन्छ । राजपाठमा व्यस्त ‘रावण’को दृष्टिबाट हेर्दा विभिषणले धोका नदिएको भए सायद ग्रन्थमा हिन्दूले अर्कै विषय पढिरहेका हुने थिए । त्यस विषयलाई पनि नजरअन्दाज नगरी विश्लेषण गर्नु उपयुक्त हुनेछ । अथवा, जसलाई विभिषण बन्नका लागि उत्प्रेरित गरिन्छ, त्यो पात्रले राज्यद्रोहका लागि उकासेको हो की होइन भन्ने विषयको हेक्का राखे, नियती काबुमा राख्न सकिन्छ ।

अहिले संगठनमा गाँईगुईँ चर्चा मात्र छ । यस्तो चर्चा भुसमा आगो सल्किएजसरी व्यापक हुनु र त्यहि हिसाबको व्यवाहार देखाउन थालियो भने, समयले सबैको मापना गरिदिन्छ ।

संगठनको गति अरुले बनाइदिएको संरचनामा रङ दलेर हुँदैन । त्यसको गति आफूले कायम गरेको नयाँ संरचना र नजीरले स्थापित गर्ने हो । हरेक सदस्यको प्रफूल्लित अनुहार बनाउने कोशीशमा हुने हो । त्यतातिर आईजी ज्ञवालीको ध्यान प्रमुखताका साथ जान आवश्यक देखिन्छ ।  आईजी ज्ञवालीका लागि जति समय छ त्यति समयमा इतिहास कायम गर्ने अनेक कामहरू छन् । जसरी निर्विवाद प्रवेश भयो, विवादरहित विदाईको लक्ष्य र उद्देश्यमा व्यवाहारिक हिसाबले संगठन हाँक्नुपर्छ । संगठनमा मान्छे गनेर मुस्कान छर्ने होइन, योग्यता, क्षमता र कार्यदक्षताको सम्मान गरी जनताको अनुहारमा मुस्कान दिने प्रयत्न नै आईजी ज्ञवालीका लागि विशेष रहन सक्छ ।

टिप्पणीकारले नै लेखेको थियो– जसरी संगठन चलाउनका लागि परम्परालाई विशेष ध्यान दिएर पूर्वआईजीको सल्लाह र सुझाव शुभेच्छा लिँदै आईजी ज्ञवाली अगाडि बढे यो सुखद संकेत हो । तर, महिना दिनमा नै सचिवालय वा बाहिरी घेराको सल्लाहमा आलोचनाको मार्ग समात्नु सुखद हो र ?

अन्यथा, यत्ति भन्नुपर्छ– नियुक्ति भएका दिनदेखि नै दिन गन्ती भइरहेका आईजी ज्ञवाली आफैंले विश्वास गरेका विविध पदीय रापमा रहेकाको संक्रमणको घेराबन्दीमा थिच्चिनेछन्, मिच्चिनेछन्, कुँज्जिनेछन्, कर्तव्यपालनका बखत । त्यस्तो दिन आउन नदिन उनी सक्रिय बनुन्, स्वार्थरहित शुभकामना छ !

प्रतिक्रिया
सम्बन्धित