१ कार्तिक २०८३, आइतबार

नयाँ वर्षमा भत्किएको पक्की पुल बन्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

तम्घास, २८ फागुन । गुल्मीको मुसिकोट नगरपालिकामा गत वैशाखमा बन्दाबन्दै भत्किएको पुल पुनः बन्न शुरु गरेको छ । नगरपालिकाको वडा नं ३ र ७ जोड्ने बडिगाढखोलामाथिको पुल बन्न शुरु भएको हो ।

गत पुसदेखि निर्माण शुरु गरिएको पक्की पुलको अहिलेसम्म बिमबोरिङ, रड विच्छ्याउने लगायतका काम भएका छन् । यदि अहिलेकै गतिमा पुलको काम अगाडि बढेमा जेठको अन्तिम हप्तासम्म काम सकिनेछ ।

बडिगाढ खोलामाथि बन्दै गरेको पुल गत वैशाख १ गते आइतबार साँझ भत्किएको थियो । ढलान गरेको दुई दिनपछि भत्किएको पुलको वाइटी जयबुद्ध कन्ट्रक्शन प्रालिले निर्माणको जिम्मा लिएको थियो ।

कूल ५८ मिटर लामो पुल बडिगाढ खोलामा आएको बाढीले भत्काएको हुनसक्ने अनुमान गरिएको थियो । त्यसपछि पुलको अनुगमन र अध्ययन गर्न वैशाख ३ गते मङ्गलबार काठमाडौँबाट विज्ञ समूह गुल्मी आएको थियो ।

विसं २०७३ असारमा सम्झौता भएको पुल २०७५ असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने थियो । तर काम गर्दा खोलामा बाढी आउनेलगायतका कारणले निर्माण सामग्री नै बगाउन थालेपछि काठमाडौँबाट विज्ञ समूह आई पुलको डिजाइन नै परिवर्तन गरी फेरि बनाउँदा ढिलाइ भएको थियो । त्यसैमाथि बाढीले बगाउँदा झन् एक बर्ष ढिलो भएको थियो ।

निर्माणको काम धमाधम शुरु भएसँगै पुल कसले र कहिले बनाउँछ भन्ने बहस सकिएको छ । पहिले नै पुल बनाउने जिम्मा पाएको वाइटी जयबुद्ध कन्ट्रक्शन प्रालिले नै पुल निर्माणको काम अगाडि बढाएको छ ।

कम्पनीका अनुसार पुलको नेको इन्स्योरेन्समा बीमा गरेका कारण आर्थिकरूपमा क्षति व्योहोर्नुपरेन ।

स्वीस सरकारको सहयोगमा स्थानीय सडक पुल कार्यक्रमअन्तर्गत कुल रु पाँच करोड १७ लाखको लागतमा पुल बन्न लागेको सवइञ्जिनीयर इन्द्रविलास पोखरेलले बताउनुभयो । जसमध्ये रु दुई करोड ७३ लाखभन्दा बढी भुक्तान भइसकेको छ ।

पुल निर्माण सकिएसँगै साविकको मुसिकोटदेखि वामीसम्म आवाज जावतमा निकै सहज हुन्छ । अहिले नगरपालिकाको केन्द्र वामीदेखि जिल्ला सदरमुकाम तम्घाससम्म पुग्न ३४ किलोमिटर यात्रा गर्नुपर्छ । तर पुल बनेसँगै उक्त यात्रामा १० किलोमिटर कमी भई २४ किलोमिटरको यात्रामा तम्घास पुगिनेछ ।

त्यसका साथै मुसिकोटका वडा नं १, २, ३ र ४ तथा वडा नं ५, ६, ७, ८ र ९ का नागरिकलाई जोड्ने मार्गका रूपमा बडिगाढखोलाको पुल रहेको नगरप्रमुख सोमनाथ सापकोटाले बताउनुभयो । उहाँले निर्माण कम्पनीले पोहोरको कमजोरी सच्याएर काम गरेकाले यस वर्ष सहजै पुल निर्माण हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

यस बर्षको शुरुबाट नै पक्की पुलमा आवातजावत गर्ने सपना देखेका स्थानीयवासी नयाँ वर्षको दिन नै पुल भत्किएपछि निरास बने । तर अहिले त्यसको एक वर्ष नपुग्दै पुल निर्माणको काम अगाडि बढेपछि स्थानीयवासीको निराशा आशामा बदलिएको छ ।

“धेरैमा पुल बन्न केही वर्ष लाग्छ भन्ने थियो, तर सोचेभन्दा छिटो नै काम शुरु भयो”, स्थानीय ६१ वर्षीय गणेशालाल भण्डारीले भन्नुभयो, “सकेसम्म छिटो बने सहज हुन्थ्यो ।”

अर्का स्थानीय खडानन्दा भण्डारीले अहिले र गत वर्षको बनोटमा फरक भएको बताउनुभयो । “पोहोर सालको सेटिङ राम्रो थिएन, यो वर्ष केही सुधार भएको छ”, उहाँले भन्नुभयो, “वर्षायाम शुरु नहुँदै काम सक्नुपर्छ ।”–रासस