१ कार्तिक २०८३, आइतबार

अब अनलाईनबाट अर्डर गरेको खानाको पैसा मोबाईलबाटै तिर्न सकिने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ फागुन । मोबाईल भुक्तानी सेवा प्रदायक खल्ती र अन्लाईनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी भोजले रणनीतिक साझेदारीको घोषणा गरेका छन् ।

यस साझेदारी पश्चात भोज मार्फत अन्लाईन अर्डर गरेको खानाको पैसा खल्ती मार्फत मोबाईलबाटै तिर्न सकिने भएको छ ।

खल्तीका मर्चेन्ट एक्विजिशन हेड सचिन उदास र भोजका सहसंस्थापक निकेत अग्रवालले यही फागुन २८ गते बुधबार एक सम्झौता पत्रमा हस्ताक्षर गरेर उक्त साझेदारीको सुरुवात गरेका हुन् ।

उक्त सम्झौता समारोहमा खल्तीका सिनियर बिजनेस डेभलपमेन्ट अफिसर जोनाम भुर्तेल र भोजका बिजनेस डेभलपमेन्ट एक्जिक्युटिभ सन्तोष सिंह ठाकुरको समेत उपस्थिति रहेको थियो ।

यस साझेदारीको फल स्वरुप भोजका ग्राहकहरुले काठमाडौँ, ललितपुर र भक्तपुरका ३०० भन्दा बढी रेस्टुरेन्टबाट आफूले चाहेको खाना अर्डर गर्न र खल्ती एप प्रयोग गरेर मोबाईलबाटै भुक्तानी गर्न सक्नेछन् ।

साझेदारीको घोषणा गर्दै खल्तीका मर्चेन्ट एक्विजिशन हेड सचिन उदासले भने,“यस साझेदारीसँगै अन्लाईनबाट खाना अर्डर गर्न रुचाउने ग्राहकहरुले अब खल्ती वालेट प्रयोग गरेर बिना झन्झट मोबाईलबाटै सजिलै पैसा तिर्न सक्नुहुनेछ । प्रविधिको विकास र यसले ल्याएको सहजताको कारणले पछिल्लो समयमा नेपालमा अन्लाईनबाट सामान किन्ने चलन विस्तारै विकसित हुँदै गएको महसुस गर्न सकिन्छ । यहि प्रविधिको विकास सँगै नेपालको भुक्तानी प्रणाली पनि विस्तारै नगदरहित र डिजिटल तर्फ रुपान्तरण हुँदैछ । भोजसँगको यो साझेदारीले खल्ती प्रयोगकर्ताहरुलाई एउटा थप नयाँ सेवाको भुक्तानी गर्न सहजता प्रदान गरेको छ । यो साझेदारीसँगै हामीले नेपाल डिजिटल र नगद रहित बनाउने यात्रामा एउटा अर्को पाइला अगाडी बढेको महसुस गरेका छौँ ।”

त्यस्तै, भोजका सहसंस्थापक निकेत अग्रवालले भने,“हामी खल्तीसँग साझेदारी गरी यसले प्रदान गर्ने डिजिटल भुक्तानी सुविधा हाम्रा सबै ग्राहक माझ पुर्याउन पाउँदा उत्साहित छौँ । अब, भोजका ग्राहकहरूले भुक्तानी गर्नको लागि नगद पैसामा मात्रै भर पर्नुपर्दैन । खल्तीको डिजिटल भुक्तानी सुविधासँगै नेपालमा विद्यमान क्यास–अन–डेलिभरी प्रणालीमा हुने झन्झटबाट मुक्त हुने आशा गरेका छौँ ।”

नेपालमा पछिल्लो समयमा ई–कमर्स र अन्लाईन किनमेलको ट्रेन्ड ह्वात्तै बढेको छ । यद्यपि, अन्लाईन भुक्तानीमा आशातित वृद्धि हुन सकेको छैन र मानिसहरु अझै पनि नगद भुक्तानीमै भर पर्दै आएका छन् ।

छिमेकी देशहरू भारत, चीन र बांग्लादेशको तुलनामा नेपाल मोबाइल भुक्तानीको प्रयोगमा धेरै पछाडी छ । यस साझेदारीले नेपालीहरुमा अन्लाईन मार्फत सामान खरिद गर्दा मोबाईलबाटै भुक्तानी गर्ने बानीको सुरुवात हुने आशा गरिएको छ ।

सन् २०१५ को अक्टोबरमा सुरु भएको भोज काठमाडौँका विभिन्न रेस्टुराँहरूबाट खानाका परिकारहरू घरदैलोसम्म उपलब्ध गराउने एक भरपर्दो र चिरपरिचित सेवा प्रदायक हो ।

भोजसँग अहिले काठमाडौँ र ललितपुर वरपरका ३०० भन्दा बढी रेष्टुरेन्ट आवद्ध छन् जसमा बजेटदेखि प्रीमियम रेञ्जसम्मका छन् ।

ग्राहकले भोजको एप, वेबसाइट र फोनमार्फत खाना र खाजा अर्डर गर्न सक्छन् । पछिल्लो समयमा भोजको यो सेवा युवामाझ निकै लोकप्रिय छ ।

त्यस्तै, सन् २०१७ को जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती नेपाल राष्ट्र बैंकबाट अनुमती प्राप्त, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो ।

खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या १० लाख भन्दा बढि रहेको छ ।