४ कार्तिक २०८३, बुधबार

भूकम्पको ऋण तिर्दै नेपाली विद्यार्थी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ, २८ फागुन । कोभिड १९ को संक्रमण फैलिएपछि चीनका विभिन्न स्थानमा स्वयंसेवक सक्रिय रहेका छन् ।

उनीहरूको मुख्य काम बसोवास क्षेत्रबाट बाहिर जाने तथा भित्र पस्ने स्थानीयको परिचयपत्र जाँच्ने, अनावश्यक व्यक्तिलाई त्यस्ता ठाउँमा पस्न नदिने, शरीरको तापक्रम नाप्ने, मास्क लगाउन भन्ने, बाहिरबाट घरमा गएपछि साबुनपानीले हात धुन सम्झाउने, भिडभाडमा नजान र वृद्धवृद्धा तथा बालबच्चाको ख्याल गर्ने सल्लाह दिने हो ।

कोभिड १९ संक्रमण बढेपछि डेढ महिनादेखि यस्ता स्वयंसेवक चीनमा लाखौंको संख्यामा सक्रिय छन्। यसरी जनचेतना फैल्याउने स्वयंसेवकमध्ये एकजना नेपाली विद्यार्थी यति बेला चीनमा चर्चित बनेका छन् ।

चीनको दक्षिणमा रहेको क्वाङ्सी प्रान्तमा एक महिनादेखि भक्तपुरका सन्देश देउजा स्थानीयलाई सचेत गराउन सक्रिय छन्। शाङहाईमा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत सन्देश आफैं घुम्न गएको बेला क्वाङ्सी प्रान्तमा थुनिएका हुन्।

उनी चिनियाँ नयाँ वर्ष सुरु हुनुभन्दा दुई दिन अगाडि गत जनवरी २३ मा क्वाङ्सी पुगेका थिए। क्वाङ्सीमा रहेका साथीको घरमा नयाँ वर्ष मनाएर उनी जनवरी २५ मा साथीसहित युन्नान प्रान्ततिर लागे। राजमार्गबाट एक दिन एक रातमा उनीहरू युन्नान प्रान्त पुगे।

त्यतिन्जेलसम्म नयाँ कोरोना भाइरसले चीनलाई गाँजेको न सन्देशलाई भेउ थियो न उनका साथीलाई। युन्नान प्रान्तमा पुगेपछि उनीहरुलाई सांग्रिला पर्यटकीय स्थलमा प्रवेश गर्न सुरक्षाकर्मीले दिएनन् ।

अनि बल्ल उनीहरुले थाहा पाए– चीनका सबै पर्यटकीय स्थलहरु कोरोना भाइरले गर्दा बन्द भइसकेका रहेछन्। उनीहरु जुन बाटोबाट आएका थिए, त्यही बाटो क्वाङ्सी फर्किए। नागरिक दैनिकले खबर छापेकाे छ ।