४ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्रीको चाहना डिस्चार्ज

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी ओलीको शल्यक्रिया गरेको घाउमा खाटा बस्दै छ। त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचाररत उनलाई डिस्चार्ज हुने चाहना छ। चिकित्सक र परिवारको सल्लाह छ, ‘धैर्य गरौं।’

६९ वर्षीय प्रधानमन्त्री ओली सन्तुलित आहार लिन्छन्। अस्पतालको आईसीयूमै सामान्य हिँडडुल गर्न सक्छन्। चिकित्सकका अनुसार उनी क्रियाशील हुन खोजे पनि संक्रमणको जोखिम छ।

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक एवं वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्या सिंह शाहका अनुसार चिकित्सकहरूले सहज महसुस नगरेसम्म डिस्चार्ज गर्ने सम्भावना छैन।

डा. शाहले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘जबसम्म हामी चिकित्सकले ठिक छ भन्ने महसुस गर्दैनौं, तबसम्म डिस्चार्ज गर्दैनौं। तर अहिलेसम्मको प्रगति हेर्दा चाँडै डिस्चार्ज गर्छौं।’ उनले डिस्चार्जको दिन तोक्न आनाकानी गरिन्। प्रधानमन्त्री ओलीको गत बुधबार मिर्गौला प्रत्यारोपण गरिएको हो।

चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीले छिट्टै निवासमा जाने चाहना व्यक्त गरेका छन्। ‘मोबिलाइज गरियो भने नियमित खानामा चाँडै आउन सक्नुहुन्छ। सुतिराख्दा पनि मांसपेशीमा समस्या हुन सक्छ। तँग्रिन पनि समय लाग्ने भएकाले हिँडडुल गराउन थालिएको हो’, त्रिवि शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग प्रमुख डा. शाहले भनिन्।

प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गराएपछि बालुवाटारस्थित प्रधानमन्त्री निवास र निजी निवासमा संक्रमणबाट जोगाउन उचित व्यवस्थापन गर्नुपर्ने हुन्छ।

‘एक/दुई दिन अस्पतालमा राखिदिए घरमा आवश्यक तयारी गर्ने थियौं भन्ने अनुरोध आएको छ। प्रधानमन्त्री अलि चाँडै जान चाहनुहुन्छ’, डा. शाहले भनिन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।