
काठमाडौँ, २७ फागुन । कोरोना भाइरस (कोभिन–१९०) को उच्च जोखिममा नेपाल समेत रहेको कुरालाई ध्यानमा राखेर नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई पूर्वसतर्कता अपनाउन आह्वान गरेको छ ।
जनतालाई सुसूचित गर्ने सम्बैधानिक दायित्व बोकेका पत्रकारहरु समाचार संकलन तथा सम्प्रेषण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अस्पताल तथा स्वास्थ्य केन्द्र, विभिन्न सभा समारोह र भिडभाड भएका ठाउँको अग्रभागमा रहेर कार्य गर्नुपर्ने भएकाले पूर्वसतर्कता अनिवार्य रहेको महासंघका महासचिव महेश विष्टले बताएका छन् ।
मंगलबार विज्ञप्ति जारी गर्दै महासंघले पूर्वसतर्कताका लागि आवश्यक प्रबन्ध मिलाउन नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाल रेडक्रस सोसाइटीसँग छलफल गरी आवश्यक कार्य अघि बढाएको पनि जनाएको छ ।
महासंघले सञ्चार प्रतिष्ठानहरुलाई पनि कार्य स्थलमा खटिने पत्रकारहरुका लागि पूर्वसतर्कताको तयारी गर्न र आवश्यक सामग्रीको प्रबन्ध गर्न आग्रह गरेको छ ।
त्यस्तै, कोरोना भाइरसका बारेमा समाचार सम्प्रेषण गर्दा सत्य, तथ्य र यथार्थपरक समाचार सम्प्रेषण गरी जनतालाई सहि सूचना प्रवाह गर्न महासंघले विशेष आग्रह गरेको छ ।
यस्तो विषम परिस्थितिमा विश्व स्वास्थ्य संगठनद्धारा तोकिएको मापदण्ड सञ्चार गृह तथा पत्रकारहरुलाई उपलब्ध गराउने महासंघले तयारी गरेको जनाएको छ ।















प्रतिक्रिया