
रुकुम, २७ फागुन । गत वुधबार बिहान करिब १० बजेको थियो । विद्यार्थीहरु धमाधम स्कुलतिर जाँदै थिए त कोही स्कुलमा पुगिसकेका थिए ।
१० बजिसकेकाले कार्यालय सहयोगीले स्कुल घण्टी बजाईरहेका थिए । घण्टी बजिसकेपछि सबै छात्राछात्रहरु लाईन लाग्न भन्दै फिल्ड तिर छिटोछिटो जाँदै थिए ।
विद्यार्थीहरु प्रार्थनाका लागि लाईनमा लागिरहेका थिए । सधैँ समयमै प्रार्थनाका लागि लाईनमा आउने आफ्नी साथी अबिला मल्ललाई लाईनमा नदेखेपछि उनकी साथी सोस्तिका मल्लले हेरिन तर कहीँ देखिनन् ।
यो परिदृश्य हो रुकुम पश्चिमको आठबिससकोट नपा १४ स्थित जनविकास मावि ज्यामिरकोटको । अघि मात्र सँगै स्कुल आएकी अबिला मल्ललाई नदेखेपछि सोस्तिकाले खोज्न थालिन् ।
अबिला त कक्षा कोठामै झोक्राएर बसेकी रहिछिन् । अबिला झोक्राउनुको कारण केही नभएर पेट दुखेको रहेछ अर्थात महिनावारी भएको रहेछ ।
तत्कालै महिनावारी भएकाले अबिलालाई पीडा त छदै थियो त्यसैमा सेनेटरी प्याड नहुँदा झनै पीडा भयो । बल्लतल्ल प्रार्थना समय सकियो । सबै विद्यार्थीहरु कक्षामा भित्र पसे तर अबिला मल्ल भने नपढेर घर जान बाहिर निक्लिईन् त्यो पनि सेनेटरी प्याड नभएकै कारण ।
वुधबार आफ्नै साथीलाई महिनावारीको पिडा भोगेको देखेकी सोस्तिका मल्ललाई बिहिवार भने आफैँलाई यस्तो समस्या आईपर्यो । आफूलाई पनि महिनावारी भएको थाहा पाएपछि घर जाउँ कि स्कुलमा बसौँ दोधार भयो ।
घर जाउँ त पढाई छुट्ने, नजाउँ त महिनावारीको रगतले बस्न नमिल्ने । आफू लगायत धेरै छात्राहरुको महिनावारीका समयमा सेनेटरी प्याड नहुँदा पढाई छुटाउनु परेको दुखेसो भोगेकी थिईन् सोस्तिकाले ।
त्यसैले बिहीवार सोस्तिका घर नगई पीडामा बसेर पनि स्कुलमा सेनेटरी प्याडको सुविधा हुँदा छात्राहरु पढाई छोड्नु बाध्यता सदाका लागि हटाउने उपाय खोज्नतिर लागिन् ।
यसका लागि स्कुलका प्रधानाध्यापक दिपक सङगम थापालाई छात्राहरुको समस्याका बारेमा भनाैँ कि नभनौँ भनी फेरि दोधारमा परिन् । उनले यस पटक भने साहस गरिन् र अठोट गरिन् भनेरै छाड्छु ।
लामो सास फेरिन् र जुरक्क उठेर सरासर हेडसर दिपक सङगम थापाकहाँ पुगिन् । लगलग काप्दै महिनावारीको पीडालाई बिर्सेर भए पनि बोलिन्, हेडसर सर, प्रधानाध्यापक दिपक सङगम थापाले उनीतर्फ हेरे र भने, भन नानू, के समस्या पर्यो ? उनले भनिन्, सर पेट दुखेको छ ।
प्रअले जवाफ फर्काए, के भएर दुख्यो त ? के खायौ आज घरमा ? चिसो त भएन तिमिलाई ? सोस्तिकाले भनिन्, नाई सर त्यो केही पनि होईन, मिन्स भएको छ । प्रअले फेरि भने ए हो ? घर जान्छौ त ? कि औषधि खान्छौ त ? उनले भनिन, अहँ, म घर पनि जान्न, औषधि पनि खान्न, मलाई प्याड चाहिन्छ ।
प्रधानाध्यापक थापा एकछिन त अक्मकिए तर पनि भने, तिमिले ठीक त ठीकै भन्यौ नानू तर अहिले त कहाँ बाट ल्याएर दिउँ ? नजिकै पसल छैनन् । उनले सरको कुराको आशय बुझिन् र भनिन्, नाई सर आज त होईन तर आईतबारसम्म भए पुग्छ त्यो पनि मलाई मात्र होईन सबैलाई पुग्ने गरेर ।
आफ्नै छात्राका कुरा सुनेर प्रधानाध्यापक थापा खुशी हुँदै भने, तिमीले राम्रो कुराको प्रस्ताव ल्यायौ, ल म आइतबार प्याड ल्याएरै छाड्छु, अहिले तिमी कक्षामा जाउ ।
सोस्तिका भने महिनावारीको पिडा भुल्दै खुशीका साथ कक्षा कोठामा गईन् र हेडसरले प्याड उपलब्ध गराउने र अर्को पटक आफूहरु सबैले प्याडको सुविधा लिने कुराले खुशी हुँदै पढ्न थालिन् ।
उता विद्यार्थी त खुशीसाथ पढ्न थाले । यता प्रधानाध्यापक थापा भने भन्न त भनियो तर कसरी छात्राको माग पूरा गर्ने विषयमा घोत्लिन थाले । छिटो पूरा गरौँ त विद्यालयको आन्तरिक रकम छैन, पूरा नगराँै त माग पुरा गर्छु भनियो । प्रधानाध्यापक दिपक सङगम थापालाई पर्यो फसाद ।
प्रअ थापाले विद्यालयलाई आर्थिक भार नपार्ने गरि बरु आफ्नै प्रअ भत्ता बापत आउने रकम प्याड किनेर दिने निर्णयमा पुगे । शुक्रबार नै प्रअ थापा स्थानीय राडि बजारमा गएर आफ्नै प्रअ भत्ताले प्याड किनेर ल्याए ।
आईतबार नै प्रअ थापाले एक कार्यक्रम गरी आफूले ल्याएका प्याड छात्राहरुलाई वितरण गरेको थिए । छात्राहरू पनि अब स्कुलमै प्याडको सुविधा भएपछि खुशी छन् । अहिले प्याडको सुविधा लिन नियम बनाईएको छ ।
प्याड प्रयोग गर्ने छात्रा सोही दिन घर जान पाउदैनन् । महिनावारीको लागि घरमा प्याड लिएर संचित गर्न पाईदैन । महिनामा दुई पटक लिन पाईदैन, प्रयोग गरे नगरेको रेकर्ड राखिएको छ । शिक्षिकाहरुले विद्यालयको प्याड प्रयोग गर्न नपाईने नियम बनाईएको छ ।
अहिले विद्यालयमा आउने प्रत्येक छात्राहरुले महिनावारी हुँदा प्याड नियमित प्रयोग गरिरहेका छन । सरहरुलाई पनि निर्धक्कका साथ प्याड माग्ने गरेका छन् । अहिले नियमित प्याडको व्यवस्था भएपछि छात्राहरु पनि स्कुलमा नियमित आउने गरेका छन् ।
नियमित उपस्थितिले छात्राहरुको पठनपाठनमा व्यापक सुधार भएको प्रअ दिपक सङगम थापाले बताए । यसरी एउटा छात्राको एक बोलिले विद्यालयमा परिवर्तन आएपछि अन्य छात्राहरु पनि निर्धक्क बोल्न थालेका छन् ।
पछिल्लोपटक विद्यालयमा अन्य कुराको पनि सुधार हुँदै गएको छ । पुस्तकालय, माईक्रोस्कप, कम्प्युटर लगायतको ब्यवस्था गरिएको छ । हालै शुन्य लगानिमा पूर्ण सरसफाइ उन्मुख विद्यालय घोषणासमेत गरिएको छ ।















प्रतिक्रिया