नयाँदिल्ली, २७ फागुन । भारतको मध्यप्रदेशको कमलनाथ सरकारका लागि मंगलबारको दिन निकै महत्वपूर्ण हुनेछ । सोमबार साँझदेखि राजधानी भोपालमा राजनीतिक सरगर्मी बढेको छ र यो स्पष्ट भएको छ कि ज्योतिरादित्य सिंधिया सरकारसँग रुष्ट छन् ।
अवेर राति कमलनाथद्वारा बोलाइएको क्याबिनेट बैठकमा २० मन्त्रीले राजीनामा बुझाएका छन् । यो बैठक सरकारमाथि आएको संकटका विषयमा छलफल गर्न बोलाइएको थियो । राजीनामा दिएका सबै भन्त्रीहरु कमलनाथ पक्षका हुन् ।
सोमबार दिउँसोदेखि सिंधिया गुटका ६ मन्त्रीसहित १७ विधायकहरु सरकार ढाल्ने कसरतमा जुटेको हल्ला चलेको थियो । दिउँसोदेखि उनीहरुको फोन बन्द छ भने कसैसँग सम्पर्क हुन नसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
राजीनामा दिएका मन्त्रीहरुले मुख्यमनत्रीलाई विवेक प्रयोग गरेर मन्त्रिमण्डल पुनर्गठन गर्न आग्रह गरेका छन् । उनीहरुले सरकारलाई अस्थिर बनाउने भारतीय जनता पार्टीको षड्यन्त्रलाई सफल हुन नदिने बताएका छन् ।
कमलनाथले बैठकपछि भने, ‘मेरा लागि सरकार हुनुको अर्थ सत्ताको भोक होइन । जनसेवाको पवित्र उदेश्य हो । १५ वर्षसम्म भाजपाले सत्ताको भोक मेट्यो उ आज पनि अनैतिक तरिकाले मध्यप्रदेश सरकारलाई अस्थिर बनाउन चाहिरहेकाे छ ।’
मंगलवार साँझ कांग्रेसले विधायक दलको बैठक बोलाएको छ । खबर यो पनि छ कि ज्योतिरादित्य सिंधिया दिल्लीबाट ग्वालियर गएर माधवराव सिंधियाको ७५ औँ जयन्तीको कार्यक्रममा सहभागी हुनेछन् र त्यहाँ उनले कुनै ठूलो घोषणा गर्नेछन् ।















प्रतिक्रिया