१ कार्तिक २०८३, आइतबार

शान्तिपूर्ण रह्यो होली, ट्राफिक नियम उल्लङ्घन गर्ने चालक कारवाहीमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ फागुन । होली पर्वमा उपत्यकाभित्र जथाभावी रुपमा सवारी साधन चलाउने १ हजार ९ सय ४१ चालकलाई कारवाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाले सोमबार होली पर्वका अवसरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ६ सय ४५ दुईपाङ्ग्रे र २ सय ९६ वटा चारपाङ्ग्रे सवारी साधनलाई कारवाही गरेको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले मादक पदार्थ सेवन गरी सवारी चलाउने, ओभर लोड तथा मोटरसाइकलमा तीन जना राखेर चलाउने, तीव्र गतिमा चलाउने र मोडिफाई वा ठूलो आवाज निकालेर चलाउने चालकलाई कारवाही गरिएको जानकारी दिए ।

बिहान ७ देखि बेलुका ७ बजेसम्म महाशाखालगायत उपत्यकास्थित सम्पूर्ण ट्राफिक कार्यालयहरूले ७६ स्थानमा विशेष ट्राफिक चेकजाँच गरेको, त्यस्तै १४ वटा मोबाइल भ्यानवाट मोवाईल चेकजाँच तथा मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरेको महाशाखाका प्रमुख ढकालले बताए ।

प्रभावकारी सचेतना, सडकमा हुने घटना न्यूनीकरण, भएन मानवीय क्षति

काठमाडौँ उपत्यकाको विभिन्न चोकहरूका सडकमै “तीव्र गतिमा सवारी नचलाऔँ ।”, त्यस्तै “मापसे गरी सवारी नचलाऔँ ।” भन्ने लेखिएका प्लेकार्ड बोकेका ट्राफिक प्रहरी समेत परिचालन गरिएको थियो ।

यस्ता विभिन्न अभियानबाट ट्राफिक सचेतना प्रदान गरिएको महाशाखाका प्रमुख ढकालले भन्नुभयो । उनले भने “प्रभावकारी र जनमुखी सचेतनाले नै विगतको भन्दा घटना न्यूनीकरण भएको छ ।”

यसैगरी काठमाडौँ उपत्यकामा सोमबार २० वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा १९ जना सामान्य घाइते भएका छन् भने कुनै पनि मानवीय क्षति भएको छैन ।

“विगतको समयमा जस्तो सडकमा उच्छृङ्खल गतिविधि नगरी सबैले हाम्रो विनम्र अनुरोधलाई पालना गरेर रङ्गको पर्व होलीलाई संस्कृतिअनुसार आपसी शुभकामना तथा सद्भाव साटासाट गरेर शान्तिपूर्ण तवरले मनाइदिनु भएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु ।” ढकालले थपे ।

ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटना रहित सुरक्षित र मर्या्दित बनाउने उद्देश्यका साथ काठमाडौँ उपत्यकामा होली विशेष सुरक्षा योजना समेत लागु गरी प्रभावकारी कार्यान्वयन गरेको जानकारी दिएको छ । राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा जाँचलाई समेत कडा पारिएको थियो ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठका अनुसार महाशाखाले नियमित ड्यूटी वाहेक होली पर्वलाई दुर्घटनारहित सुरक्षित र मर्यादित बनाउन ५ सय ६६ भन्दा बढी ट्राफिक प्रहरी खटाएको जानकारी दिए ।