
वीरेन्द्रनगर, २६ फागुन । कर्णाली प्रदेश सरकारले २५० छोरीबुहारीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम प्रभावकारी देखिएको छ । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा १५० लाई छात्रवृत्ति प्रदान गरेको छ भने चालू आर्थिक वर्षमा १०० लाई छात्रवृत्ति प्रदान गर्ने भएको हो ।
नर्सिङ, एचए, फार्मेसी, ल्याब टेक्निसियन, रेडियोलोजिष्ट, बाली विज्ञान, बागवानी, पशुविज्ञान, इञ्जिनीयरिङ र कम्प्युटर विज्ञानमा डिप्लोमा अध्ययन गर्न प्रदेश सरकारले छात्रवृत्ति प्रदान गरेको हो । कर्णालीका छोरीबुहारीको प्राविधिक शिक्षामा पहुँच बढाउन छात्रवृत्ति प्रदान गर्न लागिएको सामाजिक विकासमन्त्री दल रावलले बताए।
“डिप्लोमा अध्ययन पूरा गर्दासम्मका लागि प्रदेश सरकारले नियमित छात्रवृत्ति उपलब्ध गराउँछ”, उनले भने, “अघिल्लो शैक्षिक सत्रका १५० छोरीबुहारीका साथै चालू शैक्षिक सत्रमा थप १०० लाई छात्रवृत्ति प्रदान गछौँ ।”
प्रदेश सरकारले छोरीबुहारी प्राविधिक शिक्षाका लागि चालू आर्थिक वर्षमा रु एक करोड छुट्याएको छ । प्राविधिक शिक्षामा छोरीबुहारीको पहुँच बढाउनुका साथै कर्णालीमा दक्ष प्राविधिक उत्पादन गर्न यो कार्यक्रम प्रभावकारी भएको मन्त्री रावलले बताए ।















प्रतिक्रिया