४ कार्तिक २०८३, बुधबार

गाैँडा मार्न किसानले घाँसमा विष हाले

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । चितवन राष्ट्रिय निकुञ्जमा विष खाएर पनि गैंडा मरेको पाइएको छ । बाली खाइदिएर आजित भएका किसानले घाँसमा विष हालेको र त्यही घाँस खाँदा गैंडा मरेको निकुञ्ज विभागको अध्ययनमा पाइएको हो ।

वन तथा वातावरणमन्त्री शक्ति बस्नेतको निर्देशनपछि विभागले माघमा गठन गरेको कार्यदलले गैंडा मर्नुको कारणबारे स्थलगत अध्ययन गरेको थियो । त्यस क्रममा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) का पशु चिकित्सकले नमुनास्वरूप मरेका गैंडाको पोस्टमार्टम गरेका थिए ।

‘पोस्टमार्टम गर्दा केही गैंडाको आन्द्रामा समस्या देखियो, त्यसो हुनुको प्रमुख कारण विष नै हो,’ कार्यदल सदस्य सुवेदीले भने । सुवेदीका अनुसार यस वर्ष चितवन निकुञ्जमा १८ गैंडा मरेकामा ४ वटाले विष खाएको पाइएको छ । चारवटै गैंडा फरक–फरक स्थानमा किसानका खेतमा मरेका हुन् । पहिले पनि केही गैंडा त्यही कारणले मरेको पाइएको थियो ।

यो वर्ष २ वटा गैंडा विद्युतीय धरापमा परेका थिए । बालीमा गैंडा नआओस् भनेर किसानले विद्युत् प्रवाह भएको तारको बार लगाउने गरेका छन् । अन्य १२ वटामध्ये केही गैंडा आपसमा जुधेर मरेको देखिएको छ । जुधेर मरेकामा भाले गैंडा धेरै हुन्छन् । ‘आहार, बासस्थान र समागमका लागि प्रतिस्पर्धा गर्ने क्रममा पनि गैंडा मर्ने गरेको देखिन्छ,’ सुवेदीले भने ।

निकुञ्जभित्रका गैंडा चर्दै मानव बस्ती र किसानका खेतबारीसम्मै आउने गरेका छन् । दिउँसो मानव बस्तीमै हिँडडुल गरे पनि रातको समयमा तोरी, गहुँ र घाँस खान गैंडा खेतबारीमा पस्छन् । किसानले भने बाली खाएको रिसमा विष हालिदिन थालेको अध्ययनको निष्कर्ष छ ।

‘आफ्नै वरिपरि गैंडा आउँदा किसान खुसी हुनुपर्ने हो,’ गैंडा विज्ञ सुवेदीको विश्लेषण छ, ‘गैंडाले बाली सिध्याइदिने तर सरकारले न्यून क्षतिपूर्ति दिने हुँदा उनीहरूले विष हाल्ने गरेको देखिन्छ ।’

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ मा वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई १० लाखसम्म राहत र सख्त घाइतेलाई २ लाखसम्म उपचार खर्च दिने व्यवस्था छ ।

वन्यजन्तुले जति नै बाली क्षति गरे पनि प्रतिकिसान १० हजार रुपैयाँसम्म मात्र राहत रकम दिइन्छ । त्यो लिने प्रक्रिया पनि झन्झटिलो छ । त्यसैले किसानहरू वन्यजन्तुबाट बालीनाली क्षति हुनै नदिने उपाय अपनाउँछन् । वन्यजन्तुले आक्रमण गरेर ज्यान लिने जोखिम पनि छ । नागरिक दैनिकले खबर छापेकाे छ ।