पेरिस, २६ फागुन । चीन हुँदै विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण आइतबारसम्म १०१ देशमा फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ। यसको संक्रमणबाट तीन हजार पाँच सय ९५ को ज्यान गइसकेको छ।
डब्लुएचओका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक लाख पाँच हजार ८३६ पुगेको छ। जसमध्ये एसियामा सबैभन्दा बढी ८९ हजार पाँच सय २५ जना संक्रमण भएको पुष्टि भएको छ। संक्रमणका कारण शनिबारसम्म एसियामा तीन हजार एक सय ६२ जनाको ज्यान गएको छ।
युरोपमा नौ हजार ६ सय ६५, मध्यपूर्वमा ६ हजार एक सय ५८ तथा अमेरिका र क्यानडामा गरी दुई सय ७० जना संक्रमित भएका छन्। यस्तै, युरोपमा दुई सय ६३, मध्यपूर्वमा एक सय ४९ तथा अमेरिका र क्यानडामा गरी १६ जनाको ज्यान गएको छ।
कोरोनाको मुख्यभूमि मानिएको चीनमा शनिबारसम्म ८० हजार ६ सय ९५ व्यक्तिमा संक्रमण पुष्टि भएको छ। यसबाट तीन हजार ९७ जनाको ज्यान गएको छ। शनिबारयता चीनमा ४४ जनामा संक्रमण देखिएको छ भने २७ जनाको ज्यान गएको छ।
चीनमा करिब २० दिनअघि संक्रमणबाट एकै दिनमा दुई सयभन्दा बढीको ज्यान जाने गरेको थियो। अहिलेसम्म चीनबाहिर संक्रमितको संख्या २५ हजार एक सय ४१ रहेको छ भने चार सय ९८ को ज्यान गएको छ। दक्षिण कोरियामा सात हजार तीन सय १३, इरानमा पाँच हजार आठ सय २३, फ्रान्समा नौं सय ४९ र जर्मनीमा ६६ जना संक्रमित छन्।
दक्षिण कोरियामा ५०, इरानमा १४५ फ्रान्समा १६ जनाको ज्यान गइसकेको छ।
दक्षिण कोरियामा पछिल्लो सातामा नयाँ संक्रमणदरमा निकै कमी देखिएको उल्लेख छ। यहाँ गत साताको मध्यतिर संक्रमण दर दैनिक पाँच सयभन्दा बढी रहेको थियो। यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट देशभर ३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।
दक्षिण कोरियाको डेगु सहर र उत्तरी ग्योङसाङ प्रान्तमा मात्र सात हजार एक सय तीन जनामा संक्रमण भेटिएको छ । कोरोना संक्रमितमध्ये ९० प्रतिशतभन्दा बढी व्यक्ति यिनै क्षेत्रका छन्। राजधानी सियोल र ग्योंगी प्रान्तमा क्रमशः १२० र १४१ जनामा संक्रमण पुष्टि भएको छ।















प्रतिक्रिया