४ कार्तिक २०८३, बुधबार

अध्यागमनमा कडाइ : कोरोना छैन ? प्रमाणपत्र ल्याउनुस्

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । नेपाल प्रवेश गर्ने विदेशी नागरिकले कोरोना भाइरसबाट संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र अनिवार्य बुझाउनुपर्ने भएको छ। चीन, दक्षिण कोरिया, इटाली, इरान र जापानबाट आउने विदेशीले आफू संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र हवाई कार्यालय र अध्यागमन नाकामा बुझाउनुपर्नेछ।

यी मुलुकलाई ‘ट्रान्जिट’ बनाई नेपाल प्रवेश गर्न खोज्ने विदेशीका हकमा पनि यो नियम लागू हुनेछ। रिपोर्टमा कोरोनाबाट प्रभावित नभएको व्यहोरा उल्लेख हुनुपर्नेछ। हवाई तथा स्थल मार्गबाट नेपाल प्रवेश गर्नेले अध्यागमन नाकामा कोरोना भाइरसबाट संक्रमित नभएको व्यहोराको स्वास्थ्य प्रमाणपत्र अनिवार्य बुझाउनुपर्नेछ। यो नियम मंगलबारदेखि लागू हुनेछ।

गृह मन्त्रालयले नेपालस्थित विदेशी कूटनीतिक नियोगलाई पत्राचार गरी यसबारे जानकारी गराएको छ। अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले कोरोनाबाट संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र नबुझाउने विदेशीलाई नेपाल प्रवेशमा रोक लगाइने बताए। ‘कोरोना भाइरस नभएको हेल्थ सर्टिफिकेट नबुझाउने विदेशीलाई फिर्ता (इन्ट्री रिफ्युज) गर्छौं’, महानिर्देशक पौडेलले अन्नपूर्णसँग भने, ‘त्यस्ता विदेशीलाई नेपाल प्रवेश गर्न दिन्नांै।’

गृहले चीन, दक्षिण कोरिया, इटाली, इरान र जापानीलाई तत्कालका लागि स्थल मार्गबाट नेपाल प्रवेशमा रोक लगाउने तयारी गरेको छ। ती मुलुकका नागरिकलाई हवाई मार्गबाट मात्र प्रवेश गर्न अनुमति दिइने भएको छ।

नेपालमा संक्रमण नफैलियोस् भनेर गृहले ती मुलुकका नागरिकलाई स्थल मार्गबाट नेपाल प्रवेशमा रोक लगाउन लागेको हो। गृहले यो विषयमा फागुन २२ गते कन्सुलर सेवा विभागमार्फत विदेशस्थित सबै नेपाली नियोगमा पत्राचार गरेको छ।

अध्यागमनले कन्सुलर सेवालाई पठाएको पत्रमा भनिएको छ, ‘अनअराइभल भिसा दिन रोक लगाइएका मुलुकका राहदानीवाहक र ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने अन्य मुलुकका राहदानीवाहकले पनि आफूलाई कोरोना संक्रमण नभएको हेल्थ सर्टिफिकेट अध्यागमन कार्यालयमा अनिवार्य बुझाउनुपर्नेछ।’ अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।