
नुवाकोट, २४ फागुन । राजधानीबाट नजिकै रहेको नुवाकोटको फिकुरी डाँडा नयाँ ट्रेकिङ गन्तव्यका रुपमा प्रचारमा आएको छ । ३८०० मिटरको उचाईंमा रहेको फिकुरी डाँडाबाट लाङटाङ, गोसाइकुन्ड, मनास्लु, अन्नपूर्ण र गणेश हिमालमात्र होइन, तिब्बती हिमश्रृंखलासमेत देख्न सकिन्छ ।
हरिबोधिनी अर्थात् ठूलो एकादशीमा फिकुरी महादेव मन्दिरमा विशेष मेला समेत लागेको लाग्ने गरेको छ । त्यस अवसमा देशका विभिन्न भागबाट हजारौं दर्शनार्थीहरु त्यहाँ जाने गरेका छन् । त्यो अवसरमा त्यहाँ पुग्न सके इच्छाएको मनोकामना पुरा हुने जनविश्वास रहेको छ ।
रसुवा–नुवाकोट पर्यटन समाजको आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा सम्पन्न फिकुरी ट्रेकिङ ट्रेलको अध्ययन भ्रमणबाट भर्खरै काठमाडौ फर्केका पदयात्रीहरुले सो ट्रेकिङ ट्रेल नेपालको पहाडी पर्यटनमा एउटा महत्वपूर्ण ट्रेल हुने बताएका छन् । ३८०० मिटर उचाइको फिकुरी डाँडाबाट नजिकै रहेको भेडीखर्क पुगेर ५५ जनाको टोलीले ‘क्याम्पिङ’ गरेको थियो ।

‘यो ट्रेल इतिहास, प्रकृति र संस्कृतिको संगम हो’, यात्राबाट फर्किएपछि लाङटाङ सद्भावना दूत समेत रहेका पत्रकार अशोक सिलवालले भने, ‘नुवाकोटको ऐतिहासिक साततले दरबार, सूर्यगढी, किस्पाङ हुँदै फिकुरी पुगेर रसुवाको ठूलोगाउँ र घलेगढी भएर टुँगिने यो भर्जिन ट्रेलमा तामाङ, गुरुङ, नेवार र ब्राम्हण समुदायकोे जीवनसंस्कृतिमात्र होइन, परम्परागत कृषि प्रणाली, विछट्टै लाग्ने पहाडी दृश्य, गाउँले जनजीवन, अनेक प्रजातिका रुखविरुवा तथा चराचुरुङ्गी पनि अवलोकन गर्न सकिन्छ ।’
राजधानीबाट सबैभन्दा नजिक रहेको यो ट्रेल छोटो र लामो दुवै खालको ट्रेकिङका लागि पनि उपयुक्त ट्रेक भएको टुर तथा ट्रेकिङ गाइड समेत रहेका सिलवालले बताए ।
राजधानीबाट जम्मा ९७ किलोमिटर उत्तरपश्चिममा रहेको फिकुरी हुँदै रुबी भ्याली, गणेश हिमाल, तामाङ हेरिटेज, लाङटाङ र गोसाईकुन्डको पदयात्रामा समेत जोडिन सकिन्छ ।
‘फिकुरे डाँडालाई नयाँ पहाडी गन्तव्यको रुपमा विकास गर्न भ्रमण आयोजना गरेका हौं’, रसुवा–नुवाकोट पर्यटन समाज उपाध्यक्ष शिव लामिछानेले बताए ।
नेपाल पर्यटन बोर्ड सदस्य एवम् पूर्व टान अध्यक्ष दीपक महतले फिकुरी ट्रेलले विशेष पर्यटकीय सम्भावना बोकेकोले पूर्वाधार विकासमा तत्काल ध्यान दिनुपर्ने बताए ।
फिकुरी यात्राकै क्रममा ट्रेकिङ प्रशिक्षकसमेत रहेका लेखक अशोक सिलवालको पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’ पदयात्री समूहले किस्पाङ गाउँपालिकाको फिकुरीस्थित भेडीखर्कमा सामुहिक विमोचन गरेका थिए ।
‘हिमालयबाट महासागर गएको एउटा अन्वेषी यात्रुको किताब हो यो’, बाक्लो हिउँमा उभिएर नेपाल पर्यटन बोर्ड सदस्य दीपक महतले भने, ‘महासागरले घेरेको एउटा टापु देशमा यात्रा गर्दाको अनुभुति समेटिएको पुस्तक भारी हिमपातबीच हिमाली एड्भेन्चरका प्रोफेसनलहरुबाट सामुहिक रुपमा विमोचित हुनु पुस्तक विमोचनकै इतिहासमा एउटा विशेष घटना हो ।’
कृतिमाथि शुभकामना टिप्पणी गर्दै यात्रा आयोजक रसुवा–नुवाकोट पर्यटन समाजका उपाध्यक्ष शिव लामिछनेले भने, ‘लेखक सिलवालको कलम फिकुरी यात्रामाथि पनि चल्नेछ भन्ने अपेक्षा गरेका छौँ ।’

‘सागरबारे लेखिएको किताब हिमालमा आइपुग्यो । त्यहाँका मानिस पनि पदयात्रीका रुपमा यहाँ आउन्’, कन्फिडिरेसन अफ एशियन जर्नलिस्ट युनियनका उपाध्यक्ष समेत रहेका किस्पाङनिवासी अशोक सिलवालले भने, ‘त्यसका लागि यात्रा आयोजक र यात्रामा जोडिएका विदुर, सूर्यगढी, किस्पाङ, उत्तरगया र कालिका गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय र सहयात्री सबै धन्यवादका पात्र हुन् ।’















प्रतिक्रिया