४ कार्तिक २०८३, बुधबार

कोइलाखानीको सुरुङभित्र

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २४ फागुन । ‘खानीको सुरूङभित्र बाटो हुादैन, आफैं खोल्दै हिाड्नुपर्छ । कतै भत्कन थाल्छ, काठ लिएर टेकासो लगाउनुपर्छ । ढुंगा र चट्टान काट्दै अघि बढ्नुपर्छ । भित्र अन्धकार भइरहने हुनाले रात परेको पनि थाहा हुादैन । बिहान बााचे फर्कुंला भन्दै भित्र पस्छौं, बेलुकी बाहिर निस्केपछि ठूलो युद्ध जितेजस्तो हुन्छ ।’

यमबहादुर राना हरेक बिहान भगवान् सम्झिन्छन् । त्यसपछि उनै भगवान्लाई पुकार्दै कोइलाखानीको सुरुङभित्र पस्छन् । बाहिर निस्कने निश्चित हुँदैन । सुरुङ बाहिर आएर उज्यालो देख्न पाउनुलाई भाग्य ठान्छन् ।

परिवारलाई सुरुङमा पसेका आफन्त घर फर्किन्छन्/फर्किन्नन् दिनदिनै सुर्ता हुन्छ । चार सय मिटर गहिरो सुरुङमा बिना कुनै सुरक्षा दिनमा कैयौं पटक ओहोरदोहोर गर्छन् । भित्र पसेर पानी निकाल्छन्, कोइला खन्छन्, बोकेर बाहिर ल्याउँछन् ।

सुरुङ जोखिमपूर्ण छ । भत्किने त्रासले ठाउँठाउँमा काठका टेको लगाइएको छ । बोरा राखेर अड्याइएको छ । सुरुङभित्र सजिलै पानी जम्ने भएकाले कोइला निकाल्न सजिलो छैन। पानी फालेपछि बल्ल कोइला खन्न सुरु गर्छन् ।

घोराहीको उत्तरी पहाडमा रहेका कोइलाखानीमा सयौं कामदार दिनहुँ यसैगरी जोखिमपूर्ण काम गर्छन् । ‘बाँचे फर्कुंला भन्दै भित्र पस्छौं । बाहिर निस्केपछि ठूलो युद्ध जितेजस्तो हुन्छ,’ रानाले भने, ‘दिनदिनै मन ढुकढुक हुन्छ । कतिबेला के हुने हो केही भन्न सकिँदैन ।’

५४ वर्षीय रानाले यसैगरी सुरुङभित्र २४ वर्ष बिताइसके । घोराही उपमहानगरपालिका–१२ भलडाँडा निवासी उनी नै कोइलाखानीका पुराना मजदुर हुन् । अहिले पनि बिहान ८ बजे सुरुङभित्र पसिसक्छन् । शरीर पूरै कोइलाजस्तो, जता पनि कालै ।

‘भित्र बाटो हुँदैन, आफैं खोल्दै हिँड्नुपर्छ । कतै भत्कन थाल्छ, त्यस्तो बेला बाहिर आएर काठ लिएर टेकासो लगाउनुपर्छ,’ उनले भने, ‘त्यही टेकासोले जमिन थामेजस्तो लाग्छ । कति दिन थामिन्छ थाहा छैन ।’

बाटो खोल्दा ढुंगा, चट्टान काट्नुपर्छ । यसले धेरै समय लिन्छ । कहिलेकाहीं अँध्यारो सुरुङभित्रै दिन बित्छ । ‘ढुंगा काट्नुपर्दा धेरै समय लाग्छ, हामीसँग ठूलो उपकरण केही हुँदैन । छिनो र हतौडाको भरमा बाटो खोल्ने हो,’ उनले भने, ‘बाटो खोल्दै जाँदा कतिबेला दिन सकिन्छ थाहा हुँदैन । भित्र जतिबेला पनि अँध्यारो भइरहने हुनाले रात परेको पनि पत्तो पाइँदैन।’ कान्तिपुर दैनिकले समाचार छापेकाे छ ।