
काठमाडौँ, २३ फागुन । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनका केन्द्रिय अध्यक्ष पुण्य प्रसाद ढकालले विश्वलाई नै आतंकित बनाइरहेको क्रोना भाइरसविरुद्वको सचेतना अभिवृद्विमा निजामती कर्मचारीको भूमिका अहं हुने बताएका छन् ।
शुक्रवार निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन केन्द्रिय कार्यसमितिको आयोजना र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन केन्द्रिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विभागीय कार्यसमितको व्यवस्थापनमा भएको कोरोना सम्बन्धी एक सचेतना कार्यक्रममा उनले क्रोना भाइरसबारे व्याप्त अफवाह चिर्दै कालोबजारी नियन्त्रण गर्न समेत निजामती कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताए ।
ढकालले निजामती कर्मचारीहरुमा सामाजिक उत्तरदायित्वबोध उन्नत छ भन्ने प्रमाणित गर्न पनि वर्तमान तरलताको स्थितिमा निजामती कर्मचारी र राष्ट्रिय स्तरका कर्मचारीका ट्रेड यूनियनले रचनात्मक भूमिका खेल्नुपर्ने बताए ।
राज्यले लिएको पहलकदमीलाई जनताकावीचमा पुयाई सचेतनाको काममा निजामती कर्मचारीले सहयोग गनुपर्ने ढकालले बताए ।
सचेतनाको कार्यक्रम काठमाडौँबाट सुरु भएको र भोलीका दिनमा यसलाई सातै प्रदेशमा सघन रुपमा संचालन गर्ने सन्दर्भमा आधिकारिक ट्रेड यूनियन छिट्टै निर्णयमा पुग्ने ढकालको भनाई थियो ।
कार्यक्रममा सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलाले क्रोनाका सम्बन्धमा अनर्गल ढंगका प्रचार भइरहेकोले नागरिकमा त्रास उत्पन्न भएको बताए ।
सही सूचनाको अभाव र सस्तो प्रचारबाजीका कारण नागरिकमा क्रोना भाइरस सम्बन्धी भ्रामक प्रचारमा बाँच्नुपर्ने परिस्थिति सिर्जना भएकोले सत्य तथ्य बुझेर मात्र प्रकाशन तथा प्रसारण गर्न संचारमाध्यमसंग डा बास्तोलाले अपिल गरे । उनले नेपालमा अहिलेसम्म क्रोना संक्रमति बिरामी नदेखिएका कारण आतंकित नभई आवश्यक सर्तकता अपनाउन आग्रह गरे ।
नियमित रुपमा हात धोऔं, भीडभाडमा नजाऔं, अनावश्यक रुपमा नाक, कान र मुखमा हात लगाउने काम नगरौं भन्ने सन्देशलाई व्यापक रुपमा प्रवाह गर्नुपर्ने आवश्यक्ता डा बास्तोलाले औल्याए ।
कार्यक्रममा विभिन्न राष्ट्रिय स्तरका निजामती कर्मचारीका ट्रेड यूनियनका नेताहरुले क्रोना भाइरस सम्बन्धि सचेतना कार्यक्रमलाई निजामती कर्मचारीका देशभरका सवै संजालमार्फत राष्ट्रव्यापी हिसाबले सघन रुपमा संचालन गर्न आवश्यक भइसकेको बताएका थिए ।















प्रतिक्रिया