काठमाडौ, २३ फागुन । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा आइतबारदेखि प्रहरी र मनोसामाजिक परामर्शदाता राखिने भएको छ । कोरोना संक्रमणको आशंकामा आइसोलेसन वार्डमा भर्ना भएका बिरामी भाग्ने घटना देखिन थालेपछि अस्पताल प्रशासनले प्रहरी र परामर्शदाता राख्ने निर्णय गरेको हो ।
‘माइक्रोफोन राखेर सुरक्षित दोहोरो संवादको समेत व्यवस्था गरिरहेका छौं,’ अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले भने । बिरामी, स्वास्थ्यकर्मी, परामर्शदाता र आफन्तहरूबीच सहज संवादका लागि माइक्रोफोन राख्न थालिएको हो । आइसोलेसन वार्डमा रहेका बिरामी भाग्न नपाऊन् भनेर अस्पतालमा सीसीटीभीसमेत जडान गर्न थालिएको छ । अस्पतालको आइसोलेसन वार्डमा राखिएका दक्षिण कोरियाबाट आएका एक नेपाली बुधबार राति भागेका थिए । यसअघि समेत एक जना विदेशी नागरिक अस्पतालबाट भागेका थिए । ‘उनी डराएका थिए, अन्य लक्षण देखिएको थिएन,’ डा.राजभण्डारीले भने । उनका अनुसार भागेका ती बिरामीलाई बिहीबार विराटनगरमा फेला पारेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा जान भनिएको छ ।
‘अस्पताल आउँदा उनको मुख सुक्खा थियो’, अस्पतालका डा. अनुप बाँस्तोलाले भने, ‘कोरियामा नै संक्रमण भयो कि भनेर आत्तिएकासमेत थिए ।’ अस्पतालमा बुधबार कोरिया, यूएई र कतारबाट आएका ३ नेपाली र नेपाल भ्रमणमा रहेका एक फ्रेन्च नागरिक भर्ना भएका थिए । बिहीबार थप एक जनालाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ । हाल उक्त अस्पतालमा ४ जना शंकास्पद बिरामी भर्ना छन् । गत मंगलबार कोरियाबाट आएका ३ नेपाली र चीनबाट आएका एक जना चिनियाँ नागरिकमा कोरोना परीक्षणपछि संक्रमण नदेखिँदा अस्पतालले डिस्चार्ज गरेको थियो ।
सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन औषधि, मास्क, मेडिकल उपकरणको उचित व्यवस्थापन र विदेशबाट आउनेको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिएकाले तत्काल सर्वसाधारणले त्रास मान्नुनपर्ने जनाएको छ । नाकाहरूबाट आउजाउ गर्नेलाई जाँच गरेर मात्र आउन दिने व्यवस्थाले यसको रोकथाममा सहयोग पुगिरहेको सरकारले जानकारी गराएको हो ।
अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाले बिहीबार सिंहदरबारमा आयोजत पत्रकार सम्मेलनमा सरकारले ३७ वटा स्थल नाकामा छिट्टै मेडिकल टोलीसहितको सुरक्षा व्यवस्था मिलाउने बताए । भारतले औषधि निर्यातमा रोक लगाएको सम्बन्धमा राखिएको जिज्ञासामा उनले विशेष अनुरोध गरेर भए पनि तत्काल औषधि आपूर्तिलाई सहज बनाइने बताए । खतिवडाले निजी क्षेत्रसँग मिलेर सरकारले मास्क उत्पादन सुरु गर्ने तयारी गरेको जानकारी दिए । उनले सतर्कता अपनाउनु स्वाभाविक भए पनि भयभीत नहुन सर्वसाधारणलाई आह्वान गरे । कान्तिपुर दैनिकले खबर छापेकाे छ।















प्रतिक्रिया