
काठमाडौँ, १८ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य रघुजी पन्तले नेकपाभित्रको विवादको समाधान सचिवालय बैठकबाट सुरु भएकोले सचिवालय बैठकले नै यसको समाधान गर्ने स्पष्ट पारेका छन् ।
उनले भने, ‘हामी सचिवालयको निर्णयलाई पर्खिएर बसेका छौं ।’ उनले पार्टीभित्र पछिल्लो समय देखिएको परिदृश्य दुःखद भएको टिप्पणी गरे ।
उनले अहिले देखिएका समस्याहरुको समाधान पार्टीको सचिवालयको बैठकबाट यथाशक्य चाँडो गर्नसमेत माग गरे । उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट स्वास्थ्यलाभ गरेर डिस्चार्ज भएपछि अहिले देखिएका नेकपाभित्रका सबै समस्या हल हुने विश्वास दिलाए ।
उनले भने, ‘अहिलेको अवस्था भनेको सबैले आत्मचिन्तन गर्ने अवस्था हो । केपी ओलीजीले, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेवलगायत सबैले कसरी पार्टी एकता प्राप्त गर्ने र कसरी सबै नेताले आ–आफ्नो अहम त्यागेर पार्टीलाई एकताको बाटोमा लैजाने भन्ने नै हो ।’
उनले संविधान संशोधनको एजेण्डा आफ्नो पार्टीको बहस र विवादबाट बाहिर भैसकेको पनि चित्रण गरे । उनले भने, ‘संविधान संशोधनको एजेण्डा अब हाम्रो छलफलको एजेण्डा छैन् ।
कुनैपनि राजनीतिक दलले, राजनीतिक नेताहरुले ठीक एजेण्डा, ठीक समयमा, ठीक ढंगले अगाडि सार्नुपर्दथ्यो ।’ पन्तले यो संविधान संशोधनको एजेण्डा बेठीक ढंगले, बेठीक समयमा र बेठीक कुराहरुलाई लिएर अघि सारिएको तर्क गरे ।
उनले भने, ‘त्यसैले यो संविधान संशोधनको एजेण्डा देश र जनताको आवश्यकता पनि थिएन, पार्टीको आवश्यकत्ता पनि थिएन् ।’
संविधान कार्यान्वयनको बाटोतर्फ मुलुक अघि बढिरहेको अवस्थामा अहिले संविधान संशोधनको कुरा उठाउनु भनेको नदुखेको टाउँको डोरी लगाएर दुखाउने काम भएको पनि पन्तको टिप्पणी थियो । उनले भने, ‘त्यही भएर यो एजेण्डा पार्टीभित्र पनि स्थापित् हुन सकेन् । र, जनताको बीचमा पनि स्थापित हुन सकेन् ।’
उनले नेकपाले अब संविधान संशोधनको एजेण्डा आगामी ८–१० वर्षसम्मपनि छलफलमा ल्याउन नहुने जिकिर गरे । उनले थपे, ‘आठ–दश वर्षसम्म यो संविधानलाई कार्यान्वयन गर्ने हो, यो संविधानलाई कार्यान्वयन गर्ने दौरानमा भोलि केही समस्याहरु निस्किँदै जान्छन् भने त्यो बेला संविधान संशोधनका कुरा उठन् सक्छ ।’
पन्तले प्रदेशको विकासको सवालमा अहिलेको प्रदेशसभाको संरचना बदल्नुपर्ने आवश्यकत्ता औँल्याए ।
उनले भने, ‘२ नम्बर प्रदेशमा सिन्धुली, रामेछाप र दोलखा हाल्नुपर्छ । २ नम्बर प्रदेशलाई पानीको स्रोत खोई ? जलविद्युतको स्रोत खोई ? न उसँग पानीको लागि कुने ठूलो नदी छ, न त जलस्रोतको लागि केही छ ? भोलि उसले त्यहाँको विकास कसरी गर्छ ? त्यसैगरि २ नम्बरबाट बारा, पर्सा र रौतहटबाट झिकेर ३ नम्बर प्रदेशमा हाल्नुपर्छ ।
बारा, पर्सा र रौतहट कहिलेपनि जनकपुरतिर न आर्थिक रुपले, न सामाजिक रुपले, न सांस्कृतिक रुपले जोडिएको छन् ।’ उनले २ नम्बर प्रदेश मधेश नभएको जिकिर गरे ।
उनले भने, ‘त्यो मधेश मध्यदेशबाट अपभ्रंश भएको हो । मध्यदेश भन्ने भारतमा पर्छ । २ नम्बर प्रदेशको नामपनि मधेश राख्ने कुरा उपयुक्त होईन । हामीले लैङिक समानताको कुरा हेर्ने हो भने त्यो प्रदेशको सबैभन्दा उपयुक्त नाम जानकी हुन्छ । झण्डै एक अर्ब हिन्दूहरुको लागि पनि जानकी नाम पवित्र छ ।
जानकी मन्दिर हाम्रो जनकपुरमा छ । प्रदेशहरुको पूनसंरचनाको लागि संविधान संशोधनको अहिले बहस तथा छलफल चलाउन सकिन्छ । तर, अहिल्यै नै यो भैहाल्छ भन्ने मलाई पनि लाग्दैन ।’
उनले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुनुपर्छ भनेर अहिले बेमौसममा संविधानको संशोधनको कुरा गरिएको भन्दै नेतृत्वको कडा आलोचना गरे ।
उनले भने, ‘वास्तवमा यो सचिवालयको अपरिपक्वता थियो, हाम्रो सचिवालयले जनताको भावना नबुझेको कुराको परिणाम थियो, यो समयको आवश्यकत्ता थिएन । त्यसैले यो एजेण्डा आउट भयो ।’
पार्टी उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभामा जाने सवालमा उनले निर्वाचनमा हारेकाहरु राष्ट्रियसभामा जान नहुने तर्क गरे । उनले थपे, ‘निर्वाचनमा गएर हारेका मानिसहरुलाई २ वर्ष पनि नबित्दै राष्ट्रियसभामा ल्याउने कुरा लोकतान्त्रिक दृष्टिकोणले त्यति उपयुक्त होईन ।’
उनले अघि थपे, ‘राष्ट्रियसभा भनेको त त्यसलाई एल्डर हाउस पनि भनिन्छ । त्यो भनेको राष्ट्रका विभिन्न क्षेत्रमा ख्याँतिप्राप्त गरेका विशेषज्ञहरु, पार्टीभन्दापनि बाहिर रहेका मान्छेहरु, र पार्टी भित्रका पनि विचारकहरु, बौद्धिक व्यक्तित्वहरु पठाउने ठाउँ हो । जसले भोलि विद्येयक निर्माण गर्दाखेरि प्रतिनिधिसभामा गल्ती भएछ भने त्यसलाई राष्ट्रियसभामा सच्याउन सकियोस भन्ने आशय हो ।
त्यसैले निर्वाचन हारेका, स्थानीय निकायका निर्वाचन हारेका, प्रतिनिधिसभाका निर्वाचन हारेका मानिसहरुलाई पठाउने कुरा लोकतान्त्रिक रुपमा आफैंमा ठीक थिएन् ।’
उनले पहिला जाँदा विवादस्पद काम गरेर चर्चित भएकाहरुलाई पठाउन नहुने भन्दै वामदेवको नाम सिफारिशमा उनको पनि असहमति भएको संकेत गरे ।
उनले अहिलेको विवादको कुरा उल्लेख गर्दै राष्ट्रियसभामा कोहीपनि अपरिहार्य नभएको जिकिर गरे ।
उनले भने, ‘राजनीति, जनताको जीवन र राष्ट्रको जीवनमा कुनै पनि व्यक्ति अपरिहार्य हुँदैन् । केपी ओलीजी पनि अपरिहार्य होईन । प्रचण्डजी पनि होईन् । माधव नेपाल, झलनाथ, वामदेव गौतम पनि कोही पनि होईन । उहाँहरुले म अपरिहार्य हो भनेर सोच्नु भयो भने त्यो गल्ती हुन्छ । त्यसैले यो अपरिहार्य हो भनेर जोड दिने कुरा पनि आफैँमा गलत हो ।’
उनले व्यक्ति, व्यक्तिका नाम लिएर संगनको प्रेष्टिजको विषय बनाउने कुरा आफैंमा गलत भएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कडा टिप्पणी गरे ।
पन्तले वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने र संविधान संशोधन गर्ने कुरामापनि प्रधानमन्त्री ओलीको ध्यान नपुगेको टिप्पणी गरे । उनले भने, ‘दुई वटा विषयमा उहाँको ध्यान पुगेन ।
र, उहाँले गल्ती गर्नुभयो भन्ने मलाई लाग्छ । संविधान संशोधन गर्ने एजेण्डाको बैठकमा पनि उहाँ आफैंले बैठकको अध्यक्षता गर्नुभएको थियो, उहाँले त्यतिबेलै प्रष्ट भन्नुपर्दथ्यो कि यो कुसमयको कुरा हो, यो बेमौसमको बाजा हो, प्रधानमन्त्रीको हैसियतले म यो एजेण्डा लान्न भन्नुपर्दथ्यो ।
उहाँले सचिवालयको बैठकमै यसलाई स्टप गरिदिनुपर्दथ्यो । रोक्दिनुपर्दथ्यो । उहाँले त्यसलाई स्विकार्नुनै हुन्थेन । दोस्रो कुरा, वामदेव गौतमजीको नामा पनि उहाँको असहमति थियो भने उहाँले त्यही बैठकमै मेरो सहमति छैन, अलिक विचार गरौं भन्नुपर्दथ्यो ।’
आफ्नै अध्यक्षतामा र आफ्नो सहमतिमा भएको निर्णयलाई बाहिर आएर असहमति जनाउँदा यसले पार्टी जीवनमा अप्ठ्यारो पार्ने पनि उनले खतरा औंल्याए ।
सरकारको नेतृत्वको विकल्पपनि पार्टीले सोच्न सक्छ, पार्टीले नेतृत्वको विकल्पनि सोच्न सक्छ । र, हाम्रो पार्टीमा एकसे एक नेता हुनुहुन्छ । प्रधानमन्त्री हुनको लागि पनि, र पार्टी अध्यक्ष हुनको लागि पनि ।
प्रधानमन्त्री हुन चुनाव जितेर आएका तीन जना पूर्व प्रधानमन्त्रीहरु हुनुहुन्छ । त्यसकारण चिन्ता गर्नुपरेन । तर, अहिले एउटा त प्रधानमन्त्री उपचारको क्रममा हुनुहुन्छ । उहाँको अहिले स्वास्थ्यलाभको कामना गर्ने हो ।’
उनले अहिले नै मुलुकमा एउटा राजनीतिक अनिश्चितता र अस्थिरता उत्पन्न हुनेगरि प्रधानमन्त्री परिवर्तनको कुरा तत्काल उठाउनु उपयुक्त नहुने जिकिर गरे ।















प्रतिक्रिया