
काठमाडौँ, १८ फागुन । रंगपत्रकार तथा वर्तमान चलचित्र पत्रकार सङ्घकी उपाध्यक्ष गीता अधिकारीद्वारा चलचित्र पत्रकार सङ्घको आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेकी छन् ।
२०७६ चैत्र ३ गते हुने चलचित्र पत्रकार सङ्घ नेपालको महाधिवेशन नजिकिँदै गर्दा चलचित्र पत्रकारबीच चुनावी माहोल तातेको छ यतिबेला । केहीले उमेद्वारी घोषणा गरेका छन् भने केही गर्ने तयारीमा जुटेका छन् ।
डेढ दशक लामो चलचित्र पत्रकारिताको दौरानमा दर्जनभन्दा बढी पुरस्कारबाट समेत सम्मानित भइसकेकी गीता अध्यक्ष पदको बलिया दाबेदार मानिएको छ । उनी आफ्नो जित हुनेमा विश्वस्त छिन् ।
२०६१ सालमा मानचित्र मासिकबाट पत्रकारिता शुरु गरेकी गीताले कला मनोरञ्जन पत्रकारितामा आफूलाई संलग्न गराउँदै आएकी छन् । अहिलेसम्म आउँदा यस क्षेत्रमा उनको नामले दिनप्रतिदिन उचाई प्राप्त गरिरहेको छ ।
नयाँ विमर्श साप्ताहिकलगायत आधा दर्जन साप्ताहिक पत्रिका, छापा खबर मासिक र मध्यान्न दैनिक हुँदै कमाण्डर पोष्ट दैनिकमा पत्रकारिता गरेकी गीता हाल फिल्मी खबर साप्ताहिकमा सह–सम्पादक र मिलापमा रहेकी छन् ।
उनका राजधानी र मोफसल दैनिक पत्रिकाहरुमा सम सामायिक विषय, महिला हिंसाका विषयका साथै विभिन्न साहित्यिक लेखहरु प्रकाशित भइरहेका हुन्छन् ।
रङ्ग पत्रकारिताका अलवा विभिन्न विज्ञापन तथा चलचित्रका पर्दामा पनि देखिएकी गीता साहित्य लेखन, रङ्गकर्म एवम् सामाजिक कार्यमा पनि आफूलाई व्यस्त बनाउँदै आइरहेकी छन् ।
चलचित्र पत्रकार सङ्घमा सदस्य हुँदै हाल उपाध्यक्षको जिम्मेवारी सम्हाली रहेकी गीता अध्यक्ष पदको बलियो दाबेदार रहेकी छन् । चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा उनी आएमा पहिलो महिला अध्यक्ष हुने छिन् । अध्यक्षलागयत अन्य पदमा धेरै आंकाक्षी रहेपनि आधिकारिक रुपमा उम्मेदवारी घोषणा भने गरेका छैनन् ।















प्रतिक्रिया