१ कार्तिक २०८३, आइतबार

दुई हप्तामै बन्द भयो रौतहटको श्रीराम सुगर मिल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, १८ फागुन । रौतहटको मध्य भाग गरुडामा रहेको श्रीराम सुगर मिल करीब दुई हप्ता उखु क्रसिंग गरेर बन्द भएको छ । माघको २९ गतेबाट संञ्चालनमा आएको मिल फागुन १२ गते बन्द भएको हो । यस वर्ष करीब ६८ हजार क्विन्टल उखु क्रसिंग गरेर मिल बन्द भएको छ ।

उद्योगमा किसानले उखु ल्याउन छाडेपछि क्रसिंग बन्द गरेको मिलका महाप्रवन्धक पवन कुमार झाले बताए । यस वर्ष अहिलेसम्मकै न्यून उखु क्रसिंग गर्दै मिल बन्द भएको उनले जानकारी दिए ।

दुई महीना ढिलागरि मिल संञ्चालनमा आएपनि किसानले उखु ल्याउन छाडेपछि क्रसिंग बन्द गर्नु परेको उनको भनाइ छ ।

यस वर्ष करीब २ लाख क्विन्टल उखु क्रसिंग गर्ने लक्ष्य थियो,उनले भने, उखु अभावका कारण चाडै मिल बन्द गर्नु परेको हो । तर मिलले समयमा भुक्तानी नदिँदा अपेक्षाकृत उखु नपाएको किसानहरु बताँउछन् ।

गत वर्ष करीब १५ लाख क्विन्टल उखु क्रसिङ गरेर मिल बन्द भएको थियो । यस वर्ष मिलले समयमा नै उखु क्रसिंग पनि नथालेकाले खाँडसरी तथा अन्य चिनी मिलमा किसानले उखु विक्री गरेका थिए । जिल्लामा रहेको खुट्टि उखु खाडसरी तथा अन्य चिनी मिलमा विक्री भइसकेको छ ।

तर फागुनबाट मुडहन उखु तयारी भएपनि पर्याप्त मात्रामा श्रीराम सुगर मिलले क्रसिंग गर्न नसकेको उखु उत्पादक संघ रौतहटका सचिव सफिन्द्र यादवले बताए ।

मिलले समयमा नै भुक्तानी नदिएकैले उखु किसान निराश भएको उनको भनाइ छ । तर श्रीराम सुगर मिलले बिहीवारबाट बक्यौता भुक्तानी दिन थालेको उखु महाप्रवन्धक झाले बताए ।

नयाँ उखु किसानको रकम भुक्तानी दिन थालेको र पुरानो रकम पनि चाँडै भुक्तानी हुने उनको भनाइ छ ।आर्थिक वर्ष ०७१/०७२ र गत वर्षको गरी करीब रू.३२ करोड किसानलाई भुक्तानी दिन बाकी रहेको उनले बताए ।

चिनी तथा स्प्रिट विक्री गरेर रू. ७र ८ करोड हुने र अपुग रकम मिलकै जमीन विक्री गरेर किसानलाई भुक्तानी दिने तयारीमा रहेको पनि उनले बताए । विसं २०५१ सालबाट उखु क्रसिंग गर्न सुरु गरेको उक्त मिलले विसं २०६३ सालदेखि घाटा व्यहोर्दै आएको छ ।

झण्डै रू.६४ करोड घाटामा उक्त मिल रहेको बताइएको छ । दैनिक ३० हजार क्विन्टल उखु क्रसिंग गर्ने क्षमता भएपनि मिलले पछिल्ला वर्षमा १५ देखि २० हजार क्विन्टल उखु क्रसिंग गर्दै आएको थियो ।