शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

नेपाल हङकङसँग पराजित

दैनिक नेपाल २०७६ फागुन १८ गते ११:४८

काठमाडौं, १८ फागुन ।    एसीसी इस्टर्न रिजन पुरुष टी ट्वान्टी कप क्रिकेटमा नेपाल हङकङसंग पराजित भएको छ । थाइल्याण्डको बैंककमा आइतबार भएको खेलमा हङकङसँग ४३ रनले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।

टेर्डथाई क्रिकेट मैदानमा हङकङले दिएको १ सय ५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । पहिलो विकेटका लागि ज्ञानेन्द्रले कुशल मल्लसँग ४२ रनको साझेदारी गरेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

कुशल १९ रनमा आउट भए । यस्तै अविनाश बोहराले १२ रन जोड्दा आरिफ शेखले १० रन बनाए । करण केसीले ७ रनमा आउट भए । त्यस्तै विनोद भण्डारी र दिपेन्द्र सिंह ऐरी ५/५ रनमा आउट हुँदा पारस खड्का ४ रनमा पेभेलियन फर्किए । पवन सर्राफ १ रनमा आउट हुँदा सन्दीप लामिछाने सुन्य रनमा आउट भए ।

हङकङका हरुन मोहमद अर्सादले ५ विकेट लिए । यस्तै अफ्ताफ हुसेनले ३ तथा इशान खानले २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

हङकङका निजाकट खानले सर्वाधिक ४८ रनको योगदान दिए । उनले पहिलो विकेटका लागि साहिद वासिफसँग ५८ रनको साझेदारी गरेका थिए । वासिफ २६ रनमा आउट भए । यस्तै कप्तान अजिज खानले २९ रन जोड्दा हरुन मोहमद अर्सादले २७ रन बनाए । जेम्स जोनले १३ रन जोड्दा वाकस खान ५ रनमा अविजित रहे ।

नेपालका सन्दीप लामिछाने र सुशान भारीले २/२ विकेट लिए । कुशल मल्लले १ विकेट लिए । यो हारसँगै शीर्ष दुईमा रहदै एसिया कप छनोटमा पुग्ने नेपालको सपनामा धक्का लागेको छ । नेपालले २ खेलमा अंक जोड्ने सकेको छैन ।

अब नेपालले तेस्रो खेलमा बुधबार आयोजक थाइल्याण्डसँग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित