
चन्द्रौटा, १७ फागुन । राजनीतिमा उच्च तहसम्म पुगेको व्यक्तिहरुले सामान्य काम गर्नु आश्चर्य जस्तो लाग्छ । अझ हाम्रो समाजले कपडा सिलाउनुलाई अझ हेप्ने प्रवृत्ति छ ।
व्यवस्थापिका विधायकको दर्जा पाएकी उमा वि.क. यतिबेला कपडा सिलाईमा व्यस्त छिन् । राजनीति परिवर्तन र समाज सुधारमा राजनीतिमा प्रवेश गरेकी वि.क.ले श्रीमान, देवरलाई गुमाउनु पर्यो ।
२०३६ सालमा भारतको वंगालमा जन्मेकी उमाको ४० वर्षको उमेरसम्म लामो कथा बनेको छ, जो अविस्मरणीय छ । बुबा–आमा तत्कालीन समयमा राजनीतिमा सक्रिय रहेको हुँदा २०४८ सालमा कपिलवस्तुको गजहेडामा आउनुपर्यो ।
विद्यालय उमेरबाट उनको राजनीतिक यात्रा सुरु भयो । मोहनलाल सुनार र जिन्ता देवी सुनारको कोखबाट जन्मनुभएकी वि.क.को राजनीतिक यात्रामा परिवारको मुख्य साथ रहेको थियो ।
त्यसपछि अनेम संघ हुँदै फौजी पार्टीको सैन्य संघमा समेत समावेश भइन् । २०५४ सालमा पार्टीकै नेता शंकर वि.क.सँग प्रगतिशील विवाह भयो ।
दुवै जना अर्ध–भूमिगत रहेको उहाँहरुको कोखबाट २०५६ सालमा छोरीको जन्म भयो । छोरी २ वर्षकी भएपछि उहाँहरुलाई सासुआमाको साथमा शिवगढीको बानियाभार छोडेर भूमिगत भएपछि उनको संर्घष झनै बढ्दै गयो ।
भूमिगत समयमा पार्टीले अर्घाखाँचीको सिद्धारा सिमलपानी क्षेत्रको सह–ईन्चार्जको रुपमा जिम्मेवारी प्रदान गर्यो । माओवादीका सैनिकहरुलाई खाना खुुवाउने काम रहेको थियो । श्रीमानसँग सम्पर्क विहीन, परिवारसँगको सम्बन्ध टाढा हुँदाको पीडा सहनै नसक्ने थियो ।
२०५९ सालमा प्यूठानमा ८ जना माओवादीको सामुहिक हत्या भएको खबरले उनलाई त्रसित बनायो । त्यही दिन सरकार पक्षसँगको वार्ता गर्ने भन्ने खवर आएपछि मनमा केही खुशी आएको भएपनि श्रीमानको हत्याले छाँगाबाट खसे जस्तो भयो ।
श्रीमानको शव लिएर घरमा आउँदाको पीडा जो कसैले सहन सक्दैन त्यो पीडामा उमाले भोगेकी छिन् । पीडाका बाबजुत पनि पार्टीमै सक्रिय रहनुभएकी उमा राजनीतिमा झनै सक्रिय भएर होमिइन् ।
त्यही समयमै कपिलवस्तुको गुगौलीमा पनि देवरको हत्या भयो । परिवार तहस–नहस भएको अनुभुति भयो । एकै घरमा दुई भाइको हत्या हुँदा उनी आफैँ समाल्न नसक्ने अवस्था रहेको भएपनि आमा बुबा र सानी छोरीको मुख हेरेर आफूलाई समाल्नुपरेको थियो ।
सरकारी पक्षका सेना र माओवादी पक्षका सेनाहरु बीचमा हुने मुठ्भेटमा जाने सैनिकहरुलाई खानाको व्यवस्था गर्ने र उनका समस्याहरुलाई सहजको लागि भुमिका खेल्ने उमाको काम थियो । २०६३ सालमा भएको शान्ति वार्तापछि भूमिगत यात्रा सकेर खुल्ला राजनीतिमा प्रवेश भयो ।
२०६३ सालमै उहाँ अन्तरिम सरकार व्यवस्थापिका विधेयक बनेपछि जनताको हक अधिकार र विकासमा लाग्ने प्रेरणा जाग्यो । सोही समयमा गुल्मीमा दोस्रो विवाह भयो । गुल्मी जिल्लामा २०६५ सालमा जिल्ला उपाध्यक्षसम्म बनिन् ।
२०६४ सालमा भएको पहिलो निर्वाचनमा वि.क.लाई कपिलवस्तुको क्षेत्र न ५ का प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार बनाइयो । निर्वाचनमा पराजित भयो ।
राजनीति उच्च तहसम्म पहुँच भएकी उमा अहिले कपिलवस्तुको चन्द्रौटामा सिलाई कटाईको व्यवसाय गरेको छ । हाल नेकपा कपिलवस्तु जिल्ला सचिवालय सदस्य रहेकी उमाको दैनिकी पसलमा कपडा सिलाउँदामै बितेको छ ।
श्रीमान र देवर देशका लागि शहिद भएको स्मरण गर्दा उनको आँखाबाट आँसु बरबरायो । चन्द्रौटामा सामान्य फेन्सी पसल गरेर जीविकोपार्जन गरेको बताउछिन् । जनताका समस्या नजिकबाट नियालेको भएपनि सरकारले समस्या समाधानतर्फ ध्यान नदिएको उनको तर्क छ ।
गरीब जनताको पक्षमा सरकार सधैं रहनुपर्ने भएपनि त्यसो हुन नसकेको उनी बताउछिन् । “वर्तमान सरकारले केही उपलव्धीमूलक काम गरेको छ तर पूर्णता छैन, उनले भनिन्, शहिद परिवारलाई विशेष प्राथमिकता दिनुपर्छ ।”
तीनवटै सरकारमा कम्युनिष्ट पार्टीको बहुमत भएकाले यसबेला जनताप्रेमी काम हुनुपर्ने उनको तर्क छ । गरीब गरीबै, धनी धनी नै रहेकाले आफूले लिएको लक्ष्य पूरा हुन नसकेको बताइन् ।















प्रतिक्रिया