१ कार्तिक २०८३, आइतबार

गण्डकी प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सम्पन्न

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, १७ फागुन । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा शनिबार आयोजित कार्यक्रमबीच गण्डकी प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी कास्कीको पोखरामा सम्पन्न भएको छ ।

नेपाल सरकार गृह मन्त्रालय र गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा उक्त गोष्ठी शुक्रबारदेखि सुरु भएको हो ।

उक्त अवसरमा गृहमन्त्री थापाले वर्तमान समयमा देखा परेका सुरक्षा चुनौतीहरुलाई समाधान गर्दै समाजमा शान्ति, स्थायित्व एवं सुशासन कायम गर्न सर्वपक्षीय समन्वय एवं सहकार्यबाट परिस्कृत तथा एकिकृत रणनीतिक योजना अनुरुप लाग्नुपर्ने बताए । विकास एवं समृद्धिका लागि नागरिकको चेतना अभिवृद्धिमा समेत जोड दिनुपर्ने उहाँले उल्लेख गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश अन्तर्गतको प्रहरी संगठनको संरचनालाई थप सुदृढिकरण गर्दै ज्ञान एवं कौशलले दक्षतापूर्ण प्रहरी जनशक्ति उत्पादन गरी थप रचनात्मक ढंगले जनता केन्द्रित प्रहरी सेवा प्रदान गर्नेतर्फ प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।

सो अवसरमा गृहसचिव महेश्वर न्यौपानेले पेशागत अभिवृद्धि, उच्च व्यवसायिकता प्रदर्शन, जिम्मेवारीमा संवेदनशीलताका साथै आपसी समन्वय र सहकार्यबाट शान्ति सुरक्षा र अमनचयनको अवस्थालाई सदैव चुस्तदुरुस्त राख्न सकिने चर्चा गर्दै यसका लागि सबै निकाय एकजुट भएर लाग्नुपर्ने उल्लेख गरे ।

गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव किरणराज शर्माले प्रदेशस्तरीय सुरक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त गोष्ठीमा गण्डकी प्रदेशका ११ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आआफ्नो जिल्लाको शान्ति सुरक्षा र चुनौतीका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

गोष्ठीमा उक्त प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, वर्तमान सुरक्षा चुनौती, उपलव्ध साधनस्रोत, भावी रणनीतिक योजना लगायतका विविध विषयमा सहभागीहरुबीच दुई दिनसम्म छलफल, अन्तरक्रिया र अनुभव आदानप्रदान समेत भएको थियो ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानको अध्यक्षतामा सम्पन्न गोष्ठी समापन कार्यक्रममा गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा. ईन्द्रजित राई, गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रमुख सचिव हरि प्रसाद बस्याल, प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी, नेपाली सेनाका उच्च अधिकृतहरु, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, गण्डकी प्रदेशका ११ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु तथा सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।