
काठमाडौँ, १६ फागुन । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले साहित्य सिर्जना मार्फत् सामाजिक तथा राष्ट्रिय एकतालाई अझ बलियो बनाउनु पर्ने धारणा राखेका छन् ।
गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको देशव्यापी राष्ट्रिय कविता प्रतियोगितात्मक महोत्सवको शुक्रबार उद्घाटन गर्दै मन्त्री भट्टराईले सबै खालका नकारात्मक पाटोलाई चिर्ने सशक्त औजार साहित्य भएको बताए ।
“अन्धकारमा रुमलिने साहित्यको अबको समयमा कुनै अर्थ छैन” मन्त्री भट्टराईले भने । बेग्लै प्रसंगमा मन्त्री भट्टराईले देशले राजनीतिक निकास पाएको वर्तमान अवस्थामा आर्थिक विकास सबैको साझा एजेण्डा हुनुपर्ने बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सरकार प्रतिवद्ध रहेको जानकारी गराउँदै मन्त्री भट्टराईले मुलुक समृद्धितर्फ अघि बढिरहेको दाबी गरे । वागमती प्रदेशका भौतिक, पूर्वाधार मन्त्री रामेश्वर फुयालले साहित्यलाई पनि उत्पादनको क्षेत्र बनाउनु पर्ने धारणा राखे ।
प्रतिनिधि सभा सदस्य कृष्ण राईले साहित्य मार्फत् नै चेतनाको स्तरवृद्धि हुने बताए । गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले नगरपालिकामा चाँडै नगर प्रज्ञा परिषद् गठन गरिने जानकारी गराए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले नेपाली साहित्यको स्तरवृद्धिका लागि प्रतिष्ठान क्रियाशील रहेबो बताए । प्राज्ञ डाक्टर देवी नेपालले स्थानीय तहकै आयोजनामा देशव्यापी राष्ट्रिय कविता प्रतियोगितात्मक महोत्सव हुनु गौरवको विषय भएको बताए ।
महोत्सवको सहआयोजक ग्राम निर्माण बन्धु मण्डल क्लबका अध्यक्ष तथा नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसालले आगामी दिनमा पनि क्लबले साहित्यिक गतिविधिलाई उच्च प्राथमिकता दिने बताए । वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेले साहित्यको उपेक्षा भएमा समाज समृद्ध हुन नसक्ने विचार व्यक्त गरे ।
महोत्सव संयोजक तथा वरिष्ठ साहित्यकार गोविन्द घिमिरे वेदमणिले गोकर्णेश्वर नगरपालिकालाई साहित्यको उद्गम क्षेत्रको रुपमा परिचित गराउन प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विजय आचार्य, गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष राजीव थापा लगायते महोत्सवको औचित्यमाथि प्रकाश पारेका थिए ।















प्रतिक्रिया