
काठमाडौं, १६ फागुन । प्रतिनिधि सभाको चुनावमा पराजित भएका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभामा लैजाने निर्णयदेखि नै नेपाल कम्युनिस्ट पार्टीले नैतिकता गिराएको थियो ।
सोही नजीरलाई आधार बनाउँदै सचिवालमा बहुमतले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय भएको थियो । श्रेष्ठसँगै राष्ट्रिय सभामा निर्वाचित गराउने नेकपाको प्रस्ताव स्वयम् गौतमले स्वीकार गरेका थिएनन् । त्यसैबेला उनको अडान थियो– राष्ट्रिय सभा सदस्यको अधिकार बढाउँदै प्रधानमन्त्री बन्न निर्वाचित हुने व्यवस्थाका लागि संविधान संशोधन हुनुपर्छ ।
सोही शैलीमा नेकपा बैठकले नेता माधवकुमार नेपालको नेतृत्वमा तीन सदस्यीय संविधान संशोधन अध्ययन कार्यदल गठन गरेको थियो । जसको तिव्र विरोध हुनासाथ गर्भमा नै त्यसलाई निस्क्रिय पारियो ।
तर गौतमलाई राष्ट्रिय सभामा लाने प्रस्ताव भने बहुमतले पारित भयो । तर यसपटक उनले त्यसमा कुनै पनि विरोध वा असन्तुष्टि जनाएनन् । उच्च स्रोतका अनुसार पहिला राष्ट्रिय सभामा लगेपछि संविधान संशोधनका लागि पनि नेकपा सचिवालयले अर्को निर्णय गर्ने आश्वासन गौतमले पाएका थिए । अर्थात्, उनको मनमा प्रधानमन्त्रीमा निर्वाचित गराइदिने लड्डु फुराइएको थियो ।
हाल सरकारलाई पनि विभिन्न कोणबाट आक्रमण भइरहेका बेला एकातिर सचिवालयका अन्य सदस्यले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना पनि जारी राख्ने र अर्कातिर नैतिकताहिन निर्णय बहुमतका आधारमा गरी अस्वस्थ्य राजनीति गरेको सतहमा देखियो ।
प्रतिनिधि सभामा रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, त्यसपछिको दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले कुनै व्यक्तिको महत्वकांक्षाका लागि संविधान संशोधन गर्न नहुने कडा अडान राखेका थिए ।
समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले त ‘जस्केलाबाट सदनमा छिर्दै प्रधानमन्त्री बन्ने व्यक्तिको चाहनालाई अनुमोदन गर्नु दुर्भाग्य हुने’ बताएका थिए ।
राजनीति विश्लेषकहरूका अनुसार बेमौसममा संविधान र विधिमात्र होइन, सामान्य नैतिकता समेत नरहनेगरी गरिने निर्णयले पार्टीलाई हानि गर्ने बताएका छन् । यहि पृष्ठभूमीमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली र अन्य नेताबीचको विवाद सतहमा आएको बताइन्छ ।
समग्र राजनीतिक विषयमा चर्चा गर्नका लागि विहीबार बिहान नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई बोलाएर प्रधानमन्त्री ओलीले चिन्ता व्यक्त गरेका थिए । मिडिया रिपोर्टहरूमा आएका विषयलाई पुष्टि गर्दै प्रधानमन्त्री ओलीले आफूलाई किनारा लगाउन लागिएको गुनासो सुनाएको कोइरालाले प्रष्टसँग सार्वजनिक गरिसकेका छन् ।
नेकपाभित्र विवादको चुलिएकोचाहिँ विहीबारै बागमती प्रदेश स्तरीय प्रशिक्षणका क्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एउटै मञ्चमा ५ घन्टासम्म बस्दा पनि प्रधानमन्त्री ओलीसँग बातचित नहुनुलाई हेरिएको छ ।
यतिले मात्र होइन, नेकपा नेतृत्वमा समस्या रहेको र पार्टीलाई कमजोर हुन नदिने प्रचण्ड, नेता नेपालले दिएको बयानबाजी पनि यसका प्रमाण बने । प्रचण्डले ‘पार्टी नेतृत्वमा विवाद र संश्लेषण भएर अघि बढिरहने’ बताउँदै विभाजनमाचाहिँ नजाने दाबी गरेका थिए । सोही ठाउँमा नेपालले पनि विभाजन हुन नदिने बताउँदै नेता कार्यकर्तालाई आश्वस्त हुन अपिल गरेका थिए ।















प्रतिक्रिया