काठमाडौं, १६ फागुन । विशेष अदालतले पूर्वराज्यमन्त्री एवं पूर्वसांसद सञ्जय साह ‘टक्ला’ माथि दुई फरक आर्थिक अपराधका मुद्दामा दोषी ठहर गर्दै ४ वर्ष कैद सजायको फैसला गरेको छ । उनीमाथि गैरकानुनी सम्पत्ति आर्जनको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दामा गरी ३३ करोड ६९ लाख रुपैयाँ बिगो र त्यति नै जरिवाना हुने फैसला भएको हो ।
विशेष अदालतका सदस्यहरू कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारूको इजलासले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा साहलाई २ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
उनले महत्त्वपूर्ण सार्वजनिक ओहदामा बसेर भ्रष्टाचार गरेको ठहरसहित विशेष अदालतले थप त्यति नै वर्ष कैद किटान गरेर चार वर्षको कैद सजायको फैसला गरेको प्रवक्ता पुष्पराज पाण्डेयले बताए । यो फैसलाले एउटा अपराध र त्यसमा आश्रित भएर गरिने अर्को अपराधमा पनि छुट्टाछुट्टै सजाय र जरिवाना कायम हुने ठहर्याएको हो ।
पाण्डेयका अनुसार सम्पत्ति शुद्धीकरणमा साह दोषी ठहर भएका छन् भने कति सजाय गर्ने भनेर निर्धारण गर्न आगामी २९ गते सुनुवाइ तोकिएको छ । नयाँ मुलुकी अपराध संहिताअनुसार ३ वर्षभन्दा बढी कैद किटान हुने फौजदारी अभियोगमा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ हुनुपर्छ ।
गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भने फरक–फरक रूपमा २/२ वर्ष कैद किटान भएकाले छुट्टै सुनुवाइ भएन । फौजदारी कानुनअनुसार ठूलो अभियोगको सजायका क्रममा कैद बस्दा छुट्टै अभियोगको कम सजाय पनि स्वतः त्यसमा खप्टिन्छ । यसअघि नै साह ज्यान मुद्दामा परेर कैद सजाय भोगिरहेकाले भ्रष्टाचारको अभियोगबाट फेरि थप कैद बस्नु पर्दैन ।
गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा पूर्वराज्यमन्त्री साहमाथि विशेष अदालतले १९ करोड ४४ लाख ३८ हजार रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरी भ्रष्टाचार गरेको ठहर गरेको हो । सम्पत्ति शुद्धीकरणको अभियोगमा भने १४ करोड २५ लाख एक हजार रुपैयाँको स्रोत खुल्न नसकेको ठहर भएको प्रवक्ता पाण्डेयले बताए ।
विशेष अदालतले सम्पत्ति शुद्धीकरण निवारण ऐन जारी हुनुभन्दा अघिको आर्जनको सवालमा दोषी ठहर गर्न नमिल्ने फैसला गरेको छ । फैसलाको पूर्ण पाठ आउन बाँकी छ । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया