काठमाडाैं, १६ फागुन । प्रधानमन्त्री केपी ओलीले कमिसनका लागि डिल गरेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाको बचाउ गरेका छन्।
उनले आरोप लागेपछि बाँस्कोटाले राजीनामा दिएको, दोषी भए कारबाही हुने, दोषी नभए जसले त्यस्तो गर्न खोजेको छ त्यही मान्छे कारबाहीमा पर्ने समेत बताए। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसनका लागि डिल गरेको भन्ने अडियो सार्वजनिक भएपछि बास्कोटाले सञ्चारमन्त्रीबाट राजीनामा दिएका थिए।
‘कुनै एक अनाडी मान्छेले अनधिकृत ढंगले एउटा टेप रेकर्ड ल्याउँछ, प्रमाण छैन र प्रमाणित छैन, केही छैन। तर पनि मेरो बारेमा प्रश्न उठ्यो म राजीनामा गर्छु भनेर गोकुल बास्कोटाले राजीनामा दिए, स्वीकृत भयो, आफ्नो नाममा बात लागेको हुनाले राजीनामा गरेको हो, भ्रष्टाचार गरेको प्रमाणितझैं गरेर हाम्रै साथीहरु कस्सिनुपर्ने केही छैन, कांग्रेसकालाई भ्रष्टाचार प्रमाणित हुँदा किन कारबाही भयो भनेर सदन अवरुद्ध हुन्छ तर हाम्रा साथीहरुलाई आरोपमात्रै लाग्दा पनि के के न भयो भन्ने छ’, प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले बास्कोटा स्वयंले अडियो आफ्नो नभएको र न्याय खोज्छु भनेको पनि बताए। स्विस कम्पनी र सरकारले पनि अडियो सार्वजनिक गर्ने व्यक्ति आफ्नो प्रतिनिधि नभएको प्रस्ट पारिसकेको उनको भनाइ थियो। ओलीले घुस मागेको वा खाएको सत्य नभएको पनि दाबी गरे। उनले सत्य भए सजायसमेत हुने बताए। ‘मैले भनेको छु, भ्रष्टाचार भेटियो भने देखियो भने अनुहार नहेरी कारबाही गर्छु, ऐया आत्था कसैले नगर्नुहोला। हामी सुशासनको पक्षमा छौं’, उनले भने, ‘मेरो नाममा समेत उजुरी परेको सुनेको छु। मेरो नाममा उजुरी हालेको छ भने त्यो काम नलाग्ने पत्रु उजुरी हो।
प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन मनाउने क्रममा तेह्रथुममा विकास निर्माणको कार्यक्रम लिएर जाँदा त्यहाँका जनताले उत्सव मनाएको बताए। उनले तेह्रथुममा उत्सव मनाउँदा काठमाडौंमा रुवावासी चलेको टिप्पणी गरे।
‘पत्रकारहरू दुर्गम गाउँमा बाटो, पानी बत्ती पुगेको लेख्दैनन्, बत्ती आएको खुसीयालीमा जनता नाचेको लेख्दैनन्, बिचराहरुकतिको भात खाए भनेर खोज्दै हिँड्छन्’, ओलीले भने। प्रतिपक्षीले विरोधको मुद्दा नै नपाएपछि केकमा राष्ट्रवाद खोजेको बताउँदै थपे, ‘भारतले नाकाबन्दी लगाउँदा केही पनि नबोल्ने कांगे्रसले केकमा राष्ट्रवाद खोज्न थालेको छ। आफू भोकभोकै पर्दा पनि बोलेन, चुल्हो नबल्दा बोलेन, अहिले केकमा राष्ट्रवाद खोज्न थालेको छ, नेपाली कांग्रेस केक राष्ट्रवादी हो।’ नागरिक दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया