१ कार्तिक २०८३, आइतबार

सुर्यविनायक-जडिबुटी सडक खण्डमा लेन प्रयोगको नयाँ नियम

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, १५ फागुन । सुर्यविनायक जडिबुटी ६ लेन सडक खण्डमा यात्रुवाहक र मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ लेन र निजी र साना सवारी साधनहरू सधैँ दाहिने लेनबाट मात्र चलाउने नयाँ व्यवस्था फाल्गुन १४ गते देखि लागू गरेको छ ।

भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुम कला पाण्डे र महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम प्रसाद ढकालले सुर्यविनायकमा एक कार्यक्रमबीच रिवन काटेर यो व्यवस्थाको शुरूवात गरेका थिए ।

सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रुपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृत्ति वसाउन उक्त नियम लागू गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

मासिक २०० को हाराहारीमा सवारी दुर्घटना

देशकै पहिलो ६ लेन सडकमा लेन अनुशासन पालना नहुँदा मासिक २०० को हाराहारीमा सडक दुर्घटना बढेपछि महाशाखाले उक्त लेन अनुशासनलाई कडाईका साथ लागू गरेको हो । ७ कि.मी. लम्बाई भएको उक्त सडक खण्डमा प्रति मिनेट ५१ वटा मोटरसाईकल र २३ वटा ४ पाङ्ग्रे सवारी साधन गुड्ने गर्दछ ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले भने ‘सडकमा लेन हुँदा पनि सवारी चालकहरूले सही लेन प्रयोग नगरेको र लेन परिवर्तन गर्दा पनि लापरवाहीका साथ गरेकाले सडक दुर्घटना भएको छ । सवारी दुर्घटना न्यूनीकरण गरी उक्त सडकलाई नमुना बनाउन लेन अनुशासन नियम कार्यान्वयनमा ल्याइएको हो ।’

नमुना र उदारणीय सडकखण्ड

धुलिखेल सिन्धुली बर्दिबास सडक भई पूर्वी नेपाल तर्फ जाने सवारी साधनहरू यहीं सडक भएर गुड्छन् र यहीँ सडक भएर राजधानी पनि भित्रिन्छन् ।

यस सडकमा सवारीसाधनको चाप दिनानुदिन बढिरहेको छ । छिमेकी चीनसँगको व्यापारिक नाका तातोपानी खुलेपछि यो सडकमा अझै सवारी साधनको चाप बढ्ने निश्चित छ ।

ढकालका अनुसार यस ६ लेनको सडकमा लेनअनुसार सवारी साधनहरू गुडाउनको लागि निर्माण गरिएको हो र यस नियमको कार्यान्वयन पश्चात दैशकै नमुना र उदाहरणीय सडकखण्ड हुनेछ ।

यसका लागि सम्पूर्ण सडक प्रयोकर्ताहरूले नियम पालना र सरोकारवाला निकायहरूलाई आवश्यक सहयोग र समन्वयका लागि अनुरोध समेत गरे ।

प्रचारप्रसारको लागि १० हजार पर्चा पम्पलेट

सबै नागरिकहरूलाई लेन प्रयोगसम्बन्धि जाकारीका लागि १० हजार भन्दा बढी पर्चा पम्पलेट वितरण गरेसँगै ८० वटा जानकारीमूलक बोर्डहरू राखिएका छन् ।

उक्त सडकखण्डको ७ वटा चोकहरूमा लेन प्रयोगसम्बन्धी प्ले कार्डहरू बोकी ट्राफिक प्रहरीहरूद्धारा जानकारीसमेत प्रदान गर्ने गरिएको छ ।

महाशाखाका प्रमुख ढकालले भने, ‘हाललाई उक्त नियम पालनाको लागि प्रहरी नायव उपरीक्षकको कमान्डमा ट्राफिक प्रहरी र जनपद प्रहरीको थप टोली खटाई सम्झाईवुझाई गरिएको छ ।

सडक सुरक्षा र त्यसको प्रयोगमा सम्बन्धमा स्थानीय तह लगायत अन्य सरोकारवाला निकायहरूलाई जिम्मेवारपूर्ण बनाई यस नियमलाई कडाईका साथ पालना गराईनेछ ।’

केही समय पश्चात नियम नमान्ने सवारी साधनलाई ट्राफिक प्रहरीले एक हजार पाँचसय सम्म जरिवान गर्न सक्नेछ र सोभन्दा बढी यातायात व्यवस्था कार्यालयमार्फत कारबाही हुने उनले बताए ।

सरोकारवाला सबैलाई राखेर शुरू हरिएको यो अभियानको अनुगमन र प्रभावकारी कार्यान्वयनमा सघाउका लागि सम्बन्धित सरोकारवाला संघ संस्था, नागरिक समाजबाट प्रतिनिधीत्व हुने गरि ६ सदस्य अनुगमन समिति समेत गठन पनि गरिएको छ ।

पछिल्लो समय उपत्यकाको सवारी आवागमनलाई थप सहज एव प्रभावकारी बनाउन स्थलगत रूपमा समस्याको पहिचान गरी ठाउँको ठाउँ कार्यान्वयनको लागि मसाशाखाका प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठको अध्यक्षतामा गठित सुझाव समितिले सुझाव पेश गरेको थियो ।