
काठमाडौँ, १५ फागुन । साझा पार्टीको राष्ट्रिय भेला लुम्बिनीमा आजदेखि सुरू हुँदैछ । फागुन १७ गतेसम्म चल्ने भेलामा देशका सातै प्रदेश तथा विदेशस्थित सद्भाव समूहकासमेत गरी करीब पाँच सय अगुवा सदस्य सहभागी हुने पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले जनाएका छन् ।
“साझा पार्टी फरक धार, नयाँ उर्जा संगठन र विचार” नारा दिईएको राष्ट्रिय भेलाले पार्टी स्थापनायताको अनुभव, सिकाइ, उपलब्धिहरूलाई रक्षा गर्दै तिनको जगमा अझ अगाडि जाने र आगामी एक वर्षभित्र पार्टीलाई नयाँ राजनीतिक उचाइ दिने गरी रणनीतिक र सांगठनिक कार्ययोजना तय गर्ने पार्टीको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
भेलाको पहिलो दिन आज दिउँसो तीन बजेपछि उद्घाटन सत्र सुरू हुनेछ । आजै साँझ सात बजे केन्द्रीय समितिका सम्पूर्ण सदस्य र भेलाका सबै सहभागी सदस्यहरूले मायादेवी मन्दिरमा शान्ति दीप प्रज्वलन गर्ने कार्यक्रम छ ।
दोस्रो दिन शुक्रबार समूहगत प्रस्तुती र छलफल हुनेछ । तेस्रो तथा अन्तिम दिन शनिबार समूहगत छलफलमा उठेका प्रश्नहरुको जवाफ केन्द्रीय नेतृत्वले दिनुका साथै साझा पार्टीको रणनीति र कार्ययोजना पारित गरी लुम्बिनी घोषणापत्र जारी गर्दै भेला समापन हुनेछ ।















प्रतिक्रिया