लण्डन, १५ फागुन । इटलीमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या चार सय पुगेको छ । पछिल्लो २४ घण्टामा इटलीमा सङ्क्रमितको सङ्ख्या २५ प्रतिशतले बढेको बताइएको छ ।
युरोपेली मुलुकमध्ये इटली चीनबाट फैलिन सुरु भएको यो भाइरसको सबैभन्दा बढी प्रभाव परेको राष्ट्र हो । इटलीमा फेला परेका कोरोनाभाइरसका नयाँ घटनाबारे विभिन्न युरोपेली राष्ट्रहरूले घोषणा गरेका छन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार चीनबाहिर पहिलो पटक कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको छ। गत डिसेम्बरमा देखापरेको भाइरसबाट हालसम्म ३४ राष्ट्रका ८० हजार जनाभन्दा बढी मानिस सङ्क्रमित भइसकेका छन् ।
त्यसमा सबैभन्दा बढी चिनियाँ नागरिक छन् । कोभिड-१९ नाम दिइएको उक्त भाइरसले हालसम्म दुई हजार ७ सयभन्दा बढीको ज्यान लिइसकेको छ ।
इटलीको पछिल्लो अवस्थाकस्तो छ ? मङ्गलवार रातिसम्म कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ३२० रहेको इटलीमा त्यो सङ्ख्या बढेर चार सय पुगेको बुधवार अधिकारीहरूले बताएका छन् ।
इटलीको उत्तरी भेगमा पर्ने मिलान नजिकै रहेको लोम्बार्डी र भेनिसनजिक रहेको भेनेटोमा उक्त भाइरसको प्रभाव बढी छ । कोरोनाभाइरसको प्रकोपले इटलीमा हालसम्म १२ जनाको ज्यान लिएको छ ।
अधिकारीहरूले भाइरस फैलने क्रम रोक्न उचित कदम चालिरहेको भन्दै सर्वसाधारणलाई पुनः आश्वासन दिन खोजिरहेका छन् । शैक्षिक संस्थाका साथै सिनेमा हल बन्द गरिएको छ भने कैयौँ सार्वजनिक कार्यक्रममाथि रोक लगाइएको छ ।
कोरोनाभाइरसको प्रकोपले इटलीलाई आर्थिक मन्दीमा धकेल्न सक्ने आशङ्का बढाएको छ। त्रासका कारण हाल इटलीका क्याफे खाली छन् भने होटलहरुको बुकिङ रद्द भइरहेका छन् ।















प्रतिक्रिया