काठमाडौं, १४ फागुन । कुरा वामदेव गौतम प्रधानमन्त्री बन्ने रहरबाट सुरु हुन्छ, जुन रहर उनको मनमा २०७४ को प्रतिनिधिसभाअघि तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र २०७१ मा तत्कालीन एमालेको नवौं महाधिवेशनका बेला केपी शर्मा ओलीले भरिदिएका थिए ।
पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि गौतमको प्रधानमन्त्री बन्ने चाहना भने अधुरै रह्यो । २०७५ यताको सार्वजनिक रेकर्डमात्रै केलाउँदा पनि गौतमले प्रधानमन्त्री बन्नका लागि कम्तीमा १४ पटक प्रयास गरेको देखिन्छ । ती सबै प्रयास असफल भएपछि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने प्रस्ताव अहिले अघि बढाइएको हो ।
यसको औपचारिक प्रस्ताव दाहालले गत पुस पहिलो साता काठमाडौंमा सम्पन्न स्थायी कमिटी बैठकको अन्तिम दिन राखेका थिए । एक स्थायी कमिटी सदस्यका भनाइमा ‘त्यसमा सबैजसो सदस्यहरू मौन बसे पनि नेता रघुजी पन्तले अहिले संविधान संशोधनको कुरा गर्दा पान्डोराको बक्स खोलेजस्तो हुन्छ, संविधान संशोधन गर्नुहुँदैन भन्नुभयो, त्यसपछि यो विषयमा थप कुरै भएन ।’
गौतमको मनबाट भने यो कुरो हटिसकेको रहेनछ । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, दुवै अध्यक्ष र सचिवालयका अरू नेताहरूसँग बारम्बार भेटेर आफूलाई राष्ट्रिय सभामा लैजान र राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको वातावरण बनाउन दबाब दिइरहेका थिए । अन्तत: नेकपाको सबभन्दा उपल्लो अंग केन्द्रीय सचिवालयका नौ सदस्यमध्ये छ जना त्यसमा सहमत भए । प्रधानमन्त्री ओलीको भने त्यतिञ्जेल फरक मत थियो ।
गौतमको विषयमात्र अगाडि बढाउँदा संशोधन प्रस्तावमा ओलीलाई सहमत गराउन नसकिने देखेर त्यसबीचमा नयाँ रणनीति बनाउन थालियो । ओली, दाहाल, नेपाल र गौतमबीच थुप्रै द्विपक्षीय तथा बहुपक्षीय बैठकहरू भए । त्यसैको परिणाम हो, संविधान संशोधनका निम्ति नेकपाभित्र पछिल्लो पटक छलफलमा आएका चार एजेन्डा । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया