१ कार्तिक २०८३, आइतबार

प्रचण्ड र शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा यतीलाई जग्गा लिजमा दिइएको

7.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १३ फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल ट्रष्टका तर्फबाट श्वेतपत्र जारी गर्दै दरबारमार्ग र ताहाचलको जग्गा यती होल्डिङलाई लिजमा दिँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा प्रधानमन्त्री रहेको बताएका छन् ।

श्वेतपत्रमा पूर्व राजपरिवारको नामबाट नेपाल ट्रष्टको नाममा आएको सम्पत्ति देशभर २१ हजार ५ सय ६२ रोपनी ४ आनाभन्दा धेरै रहेको उल्लेख छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै ट्रष्टका अध्यक्ष समेत रहेका इश्वर पोखरेलले १२ वटा जिल्लामा ट्रष्टको नाममा सम्पत्ति रहेको बताए । नेपाल ट्रष्टको नाममा रहेको मध्ये काठमाडौका ६ स्थानमा लिजमा दिइएको उनले बताए ।

गोकर्ण फरेष्ट रिर्सोट, दरबारमार्ग, कमलादी, टेकु र कमलादीको घर तथा जग्गा लिजमा दिइएको उनले बताए ।

त्यस्तै, ट्रष्टका नाममा ७८ करोड नेपाली रुपैयाँ, अमेरिकी डलर १ लाख ४८ हजार र बेलायती पाउन्ड ५० हजार चल सम्पत्ति रहेको र केही होटलहरुमा शेयरसमेत रहेको उनले जानकारी दिए ।

यती समूहले गोकर्ण रिसोर्ट लिज अवधि ५ वर्ष बाँकी रहँदै थप २५ वर्षलाई पाएपछि सरकारमाथि प्रश्न उठेको थियो । त्यसैले ट्रष्टले श्वेतपत्र जारी गरेको हो । पोखरेलले गोकर्ण रिसोर्ट लिजमा दिने निर्णयले सरकारलाई लाभ मिल्ने पनि उल्लेख गरेका छन् ।

दरबारमार्गको जग्गा यती समूहको थामसेर्कु ट्रेकिङ प्रालिले प्राप्त गर्ने निर्णय हुँदा प्रधानमन्त्री नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ट्रष्टको अध्यक्ष गृहमन्त्री विमलेन्द्र निधी रहेको श्वेतपत्रमा उल्लेख गरिएको छ ।

दरबारमार्गमा १ रोपनी १५ आना जग्गा थामसेर्कुले २०७४ वैशाख ५ गते प्राप्त गरेको थियो । थोमसेर्कुले दरबारमार्गको जग्गा १ अर्ब ४० करोड १० लाख ८६ हजारमा प्राप्त गरेको हो ।

त्यस्तै, ताहाचलको जग्गा थामसेर्कुले प्राप्त गर्दा ट्रष्ट्रको संरक्षकको हैसियतमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेको र अध्यक्षमा गृहमन्त्री जनार्दन शर्मा रहेको श्वेतपत्रमा उल्लेख छ ।

लिज अवधि बाँकी रहँदा नयाँ लिज सम्झौताले भाडादर बढेको र त्यसले ४ करोड ३१ लाख लाभ मिल्ने श्वेतपत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै, यती समूहले गोकर्णमा २९ करोड लगानीमा ४८ वटा सुविधायुक्त कोठा र ४ सय जना अट्ने हल बन्ने उल्लेख गरेको छ ।