१ कार्तिक २०८३, आइतबार

जुनियर युवा रेडक्रसको ४० औँ राष्ट्रिय गोष्ठी सम्पन

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ फागुन । नेतृत्वदाही भुमिकामा जुनियर र युवा हाम्रो प्रतिवद्धता भन्ने नारासहित गोरखाको सदरमुकाममा आयोजित दुई दिने ४० औँ राष्ट्रिय जुनियर तथा युवा रेडक्रस गोष्ठी सोमबार समापन भएको छ ।

औपचारिक कार्यक्रमपश्चात आज देशका विभिन्न स्थानबाट आएका युवाहरुले आन्तरिक पर्यटनलाई समेत अभिवृद्धि गर्ने अभिप्रायले लखन थापा पार्क लगायत गोरखाका विभिन्न ऐतिहासिक स्थानमा भ्रमण गर्दैछन् ।

नेरेसो गोरखा जिल्ला शाखा र स्थानीय महेन्द्र ज्योति माविको आतिथ्यमा दुई दिनसम्म सञ्चालित सो गोष्ठीमा ५९ जिल्लाका १९५ युवाको सहभागिता रहेको थियो ।

जुनियर तथा युवा रेडक्रसको संगठनात्मक विकासलाई थप प्रभावकारी बनाउन समयमै सर्कल गठन तथा पुनर्गठन गरी वर्षैभरि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने र ती गतिविधिहरु सञ्चालन गर्ने क्रममा स्थानीय स्तरमै स्रोत संकलन तथा परिचालनमा विशेष जोड दिनेलगायतका महत्वपूर्ण प्रतिवद्धता र सहमतिहरु सहित १३ बुँदे गोरखा घोषणपत्र जारी गरिएको छ ।

सो घोषणा पत्रमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघबाट प्रवद्र्धित “केन्द्रमा युवा नीति” तथा नेपाल रेडक्रस सोसाइटीको “युवा संलग्न नीति” लाई जोड दिँदै विश्वव्यापीरुपमा रहेका विभिन्न प्राकृतिक, सामाजिक र मानवीय मुद्दाका गतिविधिहरु नेपालमा सञ्चालन गर्ने गराउने उल्लेख छ ।

देशभरिका जुनियर तथा युवा सर्कललाई विभिन्न प्राकृतिक र मानवीय मुद्दाहरुमा बहस पैरवी र क्षमता अभिवृद्धि गरी सबलीकरण अभियान सञ्चालन गर्न यूवाहरुले प्रतिवद्धता जाहेर गरेका नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए ।

सडक सुरक्षा र प्राथमिक उपचार, विपद व्यवस्थापन र कृतिम घटना अभ्यास,नोवेल कोरोना भाइरस र सोको प्रभावबाट बच्ने उपायहरू, साइबर बुलिङ, रक्तदानमा युवाहरूको भूमिका जस्ता विषयमा भएको छलफल उत्कृष्ट रहेको र ती क्षेत्रमा युवाहरुको सचेतना अभियान बढाउन यूवाहरुले महत्वपूर्ण भूमिका खेल्ने जुनियर विभाग निर्देशक सुदर्शन अधिकारीले अपेक्षा गरे ।

नेरेसो गोरखा जिल्ला शाखा र स्थानीय महेन्द्र ज्योति माबिको आतिथ्यमा दुई दिनसम्म सञ्चालित सो गोष्ठीमा ५९ जिल्ला शाखाका १९५ प्रतिनिधिहरु, नेरेसो केन्द्रीय पदाधिकारीहरु, प्रदेश र आतिथ्य जिल्लाको कार्यसमितिका पदाधिकारीको सहभागिता रहेको थियो ।

पहिलो सत्रमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ आइएफआरसी महासचिव जगन चापागाईंले अनलाइन बाट प्रत्यक्ष रूपमा सहभागीहरुलाइ उत्प्रेरणा मुलुक प्रशिक्षण दिएका थिए । जुनियर तथा युवा रेडक्रसबाट आफ्नो यात्रा सुरु गरी उच्च तहमा पुगेका चापागाईसँगको अन्तरक्रियाले सहभागीहरु उत्साहित भएका थिए ।

गोष्ठीमा विभिन्न विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरुद्वारा सहभागीहरुलाइ प्रशिक्षण पनि दिइएको थियोे र सहभागि यूवाहरुले विभिन्न समुहमा सीपहरु अभ्यास गरेका थिए ।

आइतबार उद्घाटन समारोहमा नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री हरि प्रसाद न्यौपाने, गोरखा नगरपालिका प्रमुख राजनराज पन्त केन्द्रीय जुनियर युवा रेडक्रस समिति सभापति सपूत बाहादुर कार्की, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, गोरखा नगरपालिका उपप्रमुख बिना श्रेष्ठ नेरेसो केन्द्रीय सदस्यहरु शशी पन्थी, सुरेन्द्र ऐर, हेमराज ओझा, सुर्यचन्द्र न्यौपाने, नेरेसो कार्यकारी निर्देशक उमेश ढकाल, आईएफआरसी नेपाल स्थित कार्यवाहक प्रमुख हेरवे गाजाउ रहेका थिए ।

त्यस्तै आईसीआरसीका प्रतिनिधि कृष्णचन्द्र चालिसे, नेरेसो गण्डकी प्रदेश अध्यक्ष सुर्य प्रसाद ढकाल, बागमती प्रदेश महासचिव रामजी पौडेल, नेरेसो गोरखा जिल्ला सभापति भगवानबाबू मास्के, नेरेसो तनहुँ सभापति कृष्णहरि बाग्ले, केन्द्रीय रक्तसन्चार केन्द्र निर्देशक डा. मनिता राज कर्णिकार लगायत सहभागी रहेका थिए ।