६ कार्तिक २०८३, शुक्रबार

रोयल क्यासिनो सञ्चालकले सामान उठाएनन्, प्रहरी भन्छ– ‘अवैध’ चलाए सञ्चालक उठाउने आदेश छ

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । पर्यटन मन्त्रालयको नीतिअनुसारको वैधता नलिई याक एन्ड यती होटलमा चलाइएको रोयल क्यासिनो बन्द गराई सामान उठाउने सूचना जारी भएको डेढ हप्ता बितिसकेको छ ।

२० माघदेखि अवैध भएको क्यासिनोका सामान उठाउनका लागि होटलको सूचना बेवास्ता हुँदै आएको छ । होटलले सम्झौता नवीकरण नभएको र क्यासिनो अज्ञात समूहले चलाइरहेको भनी सूचना टाँस गरेको थियो ।

त्यसअघि प्रहरीमा उजुरी दिएको थियो । हाल उक्त क्यासिनोमा प्रहरीले रेकी गरिरहेको छ

उक्त क्यासिनोको लाइसेन्स ५ बर्ष अगाडि नै खारेज भएको थियो । तर, क्यासिनो सञ्चालकले कानुनी दाउपेच खेल्दै सर्वोच्च अदालतमा रिट दायर गरे । सर्वोच्चको आदेश थियो– घरबहाल करार नाममा समयसीमासम्म क्यासिनो चल्न दिनू । त्यहि मिति सकिएको हो, २० माघमा ।

गिल्ट इन्भेष्टमेन्ट प्रालीले सम्झौता गरी ५ बर्षअघि रोयल क्यासिनो चलाउने अनुमति पायो । तर कतिपय विषय नमिलेपछि क्यासिनो उठाउनुपर्ने अवस्था आयो तर गिल्ट सर्वोच्चको शरणमा पुगी अन्तरिम आदेश लिन सफल भयो ।

अदालतमा पनि सेटिङका आधारमा नै उसले त्यसैबेला अन्तरिम आदेश लिन सफल भएको बुझिएको छ । क्यासिनो डन भनेर चिनिने सुरेन्द्र सिंहले लामो समय चलाएको क्यासिनो एक बर्ष अघि १५ करोडमा भारतीय नागरिक आशिश पटेललाई बेचेका थिए ।

त्यसपछि क्यासिनो गोकर्ण लामिछाने नाम भएका अनिश शर्मा उपनामले चिनिने व्यक्तिले चलाइरहेका छन् । उनीमार्फत नै उपल्लो तहसम्मको पहुँचका आधारमा क्यासिनो केही दिन अघिसम्म चलेको थियो । तर, हाल भने सञ्चालनमा प्रहरीले रोक लगाएको छ ।

क्यासिनो नियमावली २०७० को नियम ३ मा इजाजतपत्र नलिई क्यासिनो चलाउन नपाउने पर्यटन मन्त्रालयको नियम उल्लंघन गरी जबरजस्ती चलाउन खोजीएको थियो ।

उक्त क्यासिनो नियमविपरित चलाए सञ्चालकलाई पक्राउ गरी कानुनअनुसार कारबाही हुने काठमाडौं प्रहरी परिसर प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) उत्तम सुवेदीले बताए ।

उनले दैनिक नेपालसँग भने,‘अहिले क्यासिनो चल्न दिएका छैनौं, कानुनविपरित र अवैधानिक हिसाबले जसले चलाउन खोज्छ त्यसलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन निर्देशन भएको छ ।’