मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

२० वर्षपछि माहात्मा बुद्ध गोल्डकप फुटबल प्रतियोगिता चैत २ देखि

दैनिक नेपाल २०७६ फागुन १२ गते १५:४८

-प्रतिक पौडेल
भैरहवा, १२ फागुन । रुपन्देहीमा २० वर्षपछि माहात्मा बुद्ध गोल्डकप फुटबल प्रतियोगिता चैत २ देखि हुने भएको छ । २०५५ सम्म लगातार हुँदै आएको रुपन्देहीकै प्रतिष्ठित फुटवल प्रतियोगिता २० वर्ष सम्म हुनसकेको थिएन ।

प्रतियोगिता सिद्धार्थनगर नगरपालिका र प्रफेक्ट इभेन्ट स्क्वायड प्रालिको संयुक्त आयोजनामा हुन लागेको हो ।

भैरहवास्थित संघीय प्रहरी इकाई कार्यालयको खेलमैदानमा हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहने जानकारी आयोजकले सोमबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले विगतमा भैरहवा क्षेत्रको प्रतिष्ठाको रुपमा रहेको फुटवल प्रतियोगिता २० वर्षदेखि आयोजना हुन नसकेकोले यसलाई पुनर्जीवन दिनुपर्छ भनेर नगरपालिकाले प्रतियोगिता २० वर्षपछि फेरी सुरु गर्न लागेको बताए ।

अधिकारीले प्रतियोगिता सञ्चालन गर्न करिब ६५ लाख लाग्ने र खर्च व्यवस्थापनमा संरक्षक तथा व्यवस्थापकको रुपमा रहेको सिद्धार्थनगर नगरपालिकाले २० लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिए ।

बाँकी रकम अर्को आयोजक संस्था प्रफेक्ट इभेन्ट स्क्वायड प्रालिले जुटाउने तथा आर्थिक श्रोत जुटाउन नगरपालिकाले समेत पहल गर्ने नगरप्रमुख अधिकारीले बताए ।

प्रदेश ५ सरकारको जारी लुम्बिनी भ्रमण वर्ष २०७६ र नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० पनि सुरु भइसकेको सन्दर्भमा प्रतियोगिताले नगरलाई थप चर्चामा ल्याउने उनले बताए ।

प्रतियोगिता अब प्रत्यक वर्ष सञ्चालनमा आउने र त्यसका लागि नगरपालिकाले बजेटको व्यवस्थापन गर्ने नगर प्रमुख अधिकारीको दावी छ ।

प्रतियोगितामा आयोजक टिमसहित भारत र नेपालका प्रतिष्ठित क्लब गरी ८ वटा टिमको सहभागिता रहने प्रफेक्ट इभेन्ट स्क्वायड प्रालिका सचिव रोशनसिंह खड्काले बताए ।

प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले ३ लाख तथा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट मिडफिल्डर र सर्वा्धिक गोलकर्ता घोषित गरी पुरस्कृत गरिने उनले बताए ।

प्रतियोगितामा सहभागि हुने टिमलाई २५ हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । त्यस्तै खेलको अवलोकन गर्न आउने दर्शकको लागि प्रथम चरणमा एक सय रुपैयाँ, दोस्रो चरणमा दुई सय र सबै खेलको एकमुष्ठ एक हजार रुपैयाँ टिकट शुल्क तोकिएको छ ।

सिद्धार्थनगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेतनशील लम्सालको स्वागत तथा वरिष्ठ अधिकृत गणेश बहादुर क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सुरुको अवस्थामा अञ्चलपुर युवा क्लबबाट सञ्चालित हुँदै आएको र वि.सं. २०४२ साल पश्चात सिद्धार्थनगर नगर पञ्चायतको पहलमा सोही कपलाई स्तरवृद्धि गरी महात्मा बुद्ध गोल्डकपको रुपमा सञ्चालन हुँदै आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित