
काठमाडौँ, १२ फागुन । प्रहरीले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका दुईजना अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नं ७ का ७३ वर्षीय यज्ञ प्रसाद चौलागाई र ३४ वर्षीया सम्झना भन्ने टिका कुमारी चौलागाई रहेका छन् ।
उनीहरुविरुद्ध कुमार प्रसाद पहाडीले जाहेरी दिएका थिए । कर्तव्य ज्यान मुद्दामा उनीहरुविरुद्ध पुनरावेदन अदालत पाटनले यही माघ १० गते जनही २० वर्ष कैदको फैसला सुनाएको थियो । उनीहरु दुवैजना अदालतको फैसलापश्चात फरार रहेका थिए ।
अपराध अनुसन्धान ब्यूरोको टोलीले फागुन ११ गते गोठाटार, काठमाडौँबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पेश गरीएको छ ।
गत २०७३ कात्तिक ३० गते सिन्धुलीको साविक भिमेश्वर गा.वि.स. वडा नं. ९ विकासे कुलो नजिकै तुलसा कुमारी पहाडीको मृत शव फेला परेको थियो ।
आफ्नै परिवारबाट घरेलु हिंसाको शिकार बन्दै आएकी तुलसा कुमारी पहाडीलाई ससुरा यज्ञ प्रसाद चौलागाई र देउरानी टीका कुमारी चौलागाईले कुटपिट गरी हत्या गरेर फालेको ठहर गर्दै पुनरावेदन अदालत पाटनले उनीहरुलाई जन्म कैदको फैसला गरेको थियो ।















प्रतिक्रिया